‘राजनीतिक दलहरुको अयोग्यताले सीमा नाघ्यो’



सन्दर्भ

कोरोना त्रासको लकडाउनमा नेपाल बाहिर रहेका नेपाली नागरिकहरु, नेपालमा रहेका विदेशीहरुका बारे तथा नेपालको राजनीतिक व्यवस्थाको विकल्पबारे सचेत नागरिकका नाताले केही भन्नैपर्छ।

नेपालीहरुका बारे

सरकारले सम्बोधन गरी आवश्यक समन्वय गरी गराई देशमा फर्कन चाहने नेपालीहरुलाई प्रवेश स्थान परिक्षण र क्वारेन्टाइनको भरपर्दो प्रवन्ध मिलाई सजह बनाउने साथै आन्तरिक पूर्व तयारी भए गरेका पहलु कदमहरुबारे आम जानकारी गराउनुपर्छ। संयुक्त मानवीय अध्यागमनका (Humanitarian Immigration) नीति, कार्यनीति तथा तयारी अवलम्वन गर।

भारतको सीमा क्षेत्रमा आएर क्वारन्टाइनमा बसेकाको हकमासमेत आम संचारमा थरी थरीका समाचार र अवस्था प्रदर्शन भइरहेकोमा त्यसको वास्तविकतावारे भारत र नेपालको संयुक्त विज्ञप्ती वा जानकारी व्यवस्था मिलाउ।

भारत सरकार र भारतीय दाजुभाई दिदी बहिनीहरुले पनि नेपालको सदियौदेखिको आपसी सम्बन्ध र सहयोगसाथै भारत पाकिस्तान सीमानामा नेपाली सैनिकहरुले बगाएका रगतको गरिमालाई आत्मसाथगरी हाल विभिन्न रोजगारीमा भारतका विभिन्न सहर गाउँमा रहेका नेपालीहरु रोजगारी बन्द भएका कारण घर फर्कन बाध्य भएको पीडासमेतलाई मध्यनजर राखि मानवीय भाईचाराका स्थापित गराउनमा व्यापक पहल हुन् आवश्यक छ। साथै दुबै देशका सरकारी पहलतमा स्थानीय स्तरसम्म अनुगमनको प्रवन्ध मिलाईयोस्।

विदेशीका हकमा

हामी सबै नेपालीहरुले अत्यन्तै सम्वेदनशीलभई खाना पानी आवश्यक सहयोग तथा बोली व्यबहारमा समेत नितान्त सजग भएर सेवामूखी बनी सत्कारपूर्ण ढंगबट प्रस्तुत हौं। अतिथि देव भवको हाम्रो संस्कारको पहिचान दिनमा नचुकौ, ताकी विदेशी नागरकिहरुको मन नदुखोस्।

अनुरोध र विकल्प

राज्य र राज्यका संयन्त्रहरुको परिकल्पना र प्राव्धान नागरिकहरुका हकहित र रक्षाका लागि भएको सवै राजनीतिक दर्शनबाट बिमती हुन सक्दैन। हाम्रो जीवनको कालखण्डमा आएको (कोभीड-१९) विपत्तिका बेला देशको बागडोर विश्वमा हराएको कम्युनिष्ट एमाले र कथित माओवादी जनयुद्धको खोल ओडेको र तत्काल आंतककारी घोषीत भएका मुकुण्डोधारी कम्यनिष्ट दलमा रहेको छ।

यो निकै विचारणीय पक्षहो। जसले पटकपटक राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका नैतिक धरातलमा नागरिक र विश्व समक्ष चुकेको इतिहास साक्षी छ। फेरी नैतिकता र क्षमताको पहिचानको घडि आएको छ।

जानकारी हुँदा हुँदै समयमै भरपर्दो तयारी नहुनु, लकडाउनमा परिक्षण र रोकथाम सन्तोषजनक र व्यवस्थित नहुनु वितरण प्रणालीमा दलगत र गुटवन्दी हुनु, खरिदमा जनताको ज्यानको हेलचक्रयाई गरी भष्ट्राचार हुनु, मजदुरका कमजोर व्यवस्थापन, कोरोना केश वढ्दै जानु, दलगत राजनीतिका अध्यादेश, सुधारका आवाज बन्द गर्ने दमन नीति आदि पछिल्ला गतिविधिहरुले व्यवस्था, दल र नेतृत्वहरुको नैतिक धरातल अझै खस्काएको छ।

सरकारको आधारभूत कर्तब्यबाट सरकार विचलीत हुने र लकडाउन उद्देश्यमुलक नहुने केवल सामाजिक दुरिका नाममा मात्र लम्वाउने प्रवृतिले जनताको मनोवल र विश्वासमा ह्रास आइरहेको महशुस हुन्छ। रोग र भोगको समस्या चुलिदैछ। पछि आउने भोगमरी र आपुर्ति, शिक्षाआदि समस्याको न्युनिकरण र व्यवस्थाको त कुरा नगरौं।

देश विदेशमा नेपालीहरुको शिर झुकिरहेको छ। सरकारले विदेशमा अलपत्र वा असहजतामा परेका नेपालीहरुलको बारेमा पहल नगर्दा नागरिक विहीन र देश विहीन बन्नु परेको छ। लाखौलाख नेपाली देशमा फर्कनु पर्ने अवस्थामा छन्। भोगमरी र रोजगारी आदि समस्या बढ्दै छ। हुलदंगा बढेर बाह्य खेलमा जातीय दंगामा देश फसाउने षडयन्त्रको अण्डरकरेण्ट सकृय हुनमा केही नेतागणका दलाल प्रवृति अत्यन्तै संवेदनशील बनेको छ।

अर्को तर्फ, जातीय दिगो विकास र शान्ति कागजमा सिमित रहनु छिमेकी तथा अन्तर्राष्ट्रिय सम्वन्ध असफल हुनुमा व्यवास्ता हुनु देशका हितका अवस्था होईनन्। नेपाललाई विभिन्नवादको प्रयोगशाला बनाउदै संसदीय चुनाव पद्धतिलाई भ्रष्ट र अयोग्यका सहज पहुँचमा पुगाई योग्य र राष्ट्रवादलाई पाखा लगाउने शकुनीचालमा ऐतिहासिक पहिचान, संस्कृति परम्परा सनातन हिन्दु र राजसंस्था वाह्य इशारा र दवावमा मासिनु, देशका सम्पदा कौडीका भाउमा दिईनु,जमिन, नागरिकता र कानूनका प्रावधान विदेशी शक्तिका पहुँचमा पुर्याउने काम देशको ईतिहासले माफि दिने छैन।

संक्षेपमा युद्धस्तरमा तयारी, परिक्षण, नियन्त्रण रणनीति र द्रुत कार्यान्वय, समन्वय तथा सुरक्षीत भविष्यको लागि वर्तमान सरकार लल्यांग मल्यांग गर्दै दलगत रक्षा र विवाद मिलानमा लाजै नमानी लागेको र देशको समय वर्वाद भइरहेको साथै देश असफल बनाउन उन्मुख रहेको देखिएकोले अव सरकारका सामु रहेको विकल्प भनेको नै एकताका प्रतिक राजसंस्थाको पुनरवहालीसहित नागरिक सरकारको नेतृत्वमा सेनालाई सुम्पिनु नै देशको साझाहीत र कल्याण हुनेछ।

विश्व शान्तिकादूत भगवान् गौतम वुद्धको २५६४औं शुभजयन्तीका अवसरमा विश्वका सबै मानवहरु कोरोना त्रासबाट मुक्त हुन, मृतकहरुका आत्माको चिरशान्तिको कामना तथा उपचारमा रहेका सबैको सीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपालको सनातन पहिचान र राजसंस्थाको पुर्नस्थापनले विश्वको केन्द्रविन्दु नेपालबाटै विश्वमा दिगो शान्ति र दिगो विकासको नौला आयाम अघि बढोस् भन्ने अपिल अनुरोध गर्दछु। आगे नेपाली नागरिकहरुको न्याय र निसाफ। अस्तु ।

लेखक सशस्त्र प्रहरी बलका पुर्व एआईजी तथा राष्ट्रिय शक्ति नेपालका अभियन्ता हुन्।