काठमाडौँ। बंगलादेशमा चिकित्सक शिक्षा अध्ययनरत विद्यार्थीहरुले स्वदेश फिर्तीको माग गर्दै शुक्रबारदेखि ‘डिजिटल रिले अनसन’ सुरु गरेका छन्।
ढेड महिनादेखि आफूहरुको अवस्था खतरा बन्ने भन्दै उनीहरुले नेपाल सरकारलाई उद्दार गर्न माग गर्दै आएका छन्। आफैले खर्च व्यहोर्नेभन्दा पनि सरकारले उनीहरुलाई स्वदेश ल्याउन सकेको छैन।
बंगलादेशमा अध्ययनरत एक विद्यार्थी नविन यादवका अनुसार शुक्रबारदेखि २४सैं घण्डा सरकारलाई दबाब दिने उद्देश्यअनुरुप डिजिटल रिले अनसन सुरु गरिएको हो।
उनले कर्णाली सन्देशसँगको कुराकानीमा भने, ‘हामीले डेढ महिना पहिलेदेखि नै नेपाल सरकारसँग उद्दारको माग गरेका थियौं। जुन मागलाई कर्णाली सन्देशले नै पहिलो पटक सम्प्रेषण गरेको थियो। यसबीचमा नेपाल सरकार, नेपाली दुतावास, मानवअधिकारवादी संघ संस्थाहरुसँग पनि हामीले हाम्रो अवस्थाका बारेमा जानकारी गरायौं। तर, बिडम्बना हाम्रो कुरा कसैले सुनेन।’
यादवले रिले अनशनबाटै भनेका छन्, ‘हामी बिहान ६ बजेदेखि हामीले अनशन सुरु गरेका छौं। हाम्रा आवाजहरु सरकार समक्ष पुर्याइदिनका लागि सबैमा अनुरोध गर्दछौं। खासगरि विद्यार्थी नेताहरुले हाम्रो अवस्थाका बारेमा पनि गम्भीर बन्नु हुनेछ।’ केही दिनअघि स्वदेश फिर्ताको माग गर्दै युएईमा पनि नेपालीहरुले दूतावासमा धर्ना दिएका थिए।