काठमाडौँ। बंगलादेशमा चिकित्सक शिक्षा अध्ययनरत विद्यार्थीहरुले स्वदेश फिर्तीको माग गर्दै भोलि (शुक्रबार) देखि ‘डिजिटल रिले अनसन’ बस्ने भएका छन्।
ढेड महिनादेखि आफूहरुको अवस्था खतरा बन्ने भन्दै उनीहरुले नेपाल सरकारलाई उद्दार गर्न माग गर्दै आएका छन्। आफैले खर्च व्यहोर्नेभन्दा पनि सरकारले उनीहरुलाई स्वदेश ल्याउन सकेको छैन।
नेपालमा विभिन्न व्यक्तिहरुले विदेशमा अलपत्र परेका, समस्यामा परेका नेपालीहरुको तत्काल उद्दार गर्न सरकारलाई आग्रह गरिरहेका छन्। कर्णाली सन्देशले लकडाउनको पहिलो चरणदेखि नै विदेशमा रहेका नेपालीहरुको अवस्थालाई गम्भीर रुपमा लिन सरकारलाई निरन्तर अनुरोध गर्दै आइरहेको छ।
बंगलादेशमा अध्ययनरत एक विद्यार्थी नविन यादवका अनुसार शुक्रबारदेखि २४सैं घण्डा सरकारलाई दबाब दिनका लागि डिजिटल रिले अनसन सुरु गरिने भएको छ।
उनले कर्णाली सन्देशसँगको कुराकानीमा भने, ‘हामीले डेढ महिना पहिलेदेखि नै नेपाल सरकारसँग उद्दारको माग गरेका थियौं। जुन मागलाई कर्णाली सन्देशले नै पहिलो पटक सम्प्रेषण गरेको थियो। यसबीचमा नेपाल सरकार, नेपाली दुतावास, मानवअधिकारवादी संघ संस्थाहरुसँग पनि हामीले हाम्रो अवस्थाका बारेमा जानकारी गरायौं। तर, बिडम्बना हाम्रो कुरा कसैले सुनेन।’
विद्यार्थीहरुको हकहित र अधिकारको बारेमा निरन्तर खटिदै आएका यादवले अगाडि भने, ‘बंगलादेशमा अहिले दिनप्रतिदिन कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दैछ। हामी यहाँ करिब ८ सयजति नेपाली विद्यार्थीहरु छौं। बंगलादेश नेपालदेखि धेरै डाढा पनि छैन। त्यसैमा हामीले आफ्नो खर्चमा स्वदेश फर्किन चाहन्छौं भनेका छौं। स्वदेश आएपछि सरकारका सबै मापदण्ड पूरा गरेर कोरोनाविरुद्धको युद्धमा होमिन्छौं भनेका छौं। हाम्रो आवश्यकताअनुसार जुनसुकै बेला मैदानमा खटिन तयार छौं भनेका छौं। तर, हाम्रो अनुरोधलाई सरकारले सुनिरहेको छैन। देश फर्किन पाउभन्दै अनसनमा बस्नुपर्ने दिन आयो। यो दिन आउला भनेर सोचेका पनि थिएनौं।’
आफ्ना नागरिकहरुको उद्दार गर्नु नेपाल सरकारको कर्तव्य भएको बताउँदै यादव भन्छन्, ‘हामी यहाँ उच्च जोखिममा छौं। हाम्रो अवस्था निक्कै संकटाग्रस्त अवस्था उन्मुख छ। सरकारले हिजोका दिनमा भन्यो, जहाँ छौ, त्यहि बस। हामीले आजसम्म त्यही गर्यौं। तर, आजका दिनसम्म आइपुग्दा हामी बेखर्ची बनिसक्यौं। खान बस्नसमेत समस्या सिर्जना भइसक्यो। अझैं स्वदेश फर्किने वातावरण बनेको छैन। हामी देश विहीन, नागरिक विहीन बन्दैछौं। डेढ महिनासम्म पनि हाम्रो आवाज सरकारले सुन्दैन। यता सेप्टेम्बरसम्म कलेज बन्दछ। त्यस कारण हाम्रो उद्दार तत्काल होस् भन्ने सरकारसँग माग गर्दछौं।’
अनसनका विकल्प दबाब दिने र नेपाली दुतावासलाई केही जानकारी गराउनु भएको छैन ? भनेर सोधिएको प्रश्नको जवाफमा यादवले भने, ‘हामीले नेपालमा पहिलो चरणको लकडाउन भयो। त्यहि बेलादेखि यो दिन आउछ भनेर बिदेशमा रहेका नेपालीहरुलाई विस्तारै स्वदेश फिर्ता गर्नुपर्छ भनेर माग गयौं। तर, आजका दिनसम्म पनि कुनै पहल भएन। अन्यदेशले आफ्ना नागरिकहरुको उद्दार गरिसक्यो। धेरै प्रयासहरु गर्दा पनि नेपाल सरकारबाट उद्धारको लागि अहिलेसम्म औपचारिक रुपमा कुनै पनि सकरात्मक प्रतिक्रिया नआएकोले बाँच्न पाउने र मातृभूमिमा फर्कन पाउनु पर्ने हाम्रो नैसर्गिक अधिकारका लागि भोलिबाट हामीले ‘डिजिटल रिले अनशन’ बस्ने निधो गरेका छौं।’
उनले भने, ‘रोगले, भोकले त्रासले विदेशी भूमिमा त्रशित अवस्थामा बस्नुभन्दा मातृभूमि फर्कनका लागि शान्तिपूर्ण रिले अनशन बस्दैछौं, आशा छ हामीलाई सरकारले तत्काल उद्दार गर्नेछ। सरकारले आफ्ना नागरिकमाथिको दायित्वबोध गर्नेछ, हाम्रो अधिकारलाई उपभोग गर्न दिनेछ, हामीले चाँडै सरकारलाई धन्यवाद दिन पाउनेछौं।’
केही दिनअघि स्वदेश फिर्ताको माग गर्दै युएईमा पनि नेपालीहरुले दूतावासमा धर्ना दिएका थिए।