काठमाडौँ। वागमती प्रदेशकी सांसद कल्पना नेपालीले विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार गर्न सरकालाई आग्रह गरेकी छन्।
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट त्राहिमाम बनेको मानव समूदाय आस र त्रासकाबीच बाँचिरहेको छ। यस समयमा देश तथा विदेशमा रहेका नेपालीहरु पनि असहजतामा परेका छन्।
नेपाली कांग्रेसकी नेतासमेत रहेकी सांसद नेपालीले सत्ता र शक्तिको खिचातानीलाई छोडेर सरकारलाई यस विषयमा गम्भीर हुन आग्रह गरेकी छन्।
विहीबार सामाजिक सञ्जाल फेशबुक मार्फत विश्वमा रहेका नेपालीहरुको पहिचान गरेर समस्यामा परेका नेपालीहरुको बारेमा सरकारेल तत्काल प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने बताएकी छन्। साथै सांसद नेपालीले आफ्ना नागरिकहरुका बारेमा नेपाल सरकार अभिभावकत्व र दायित्वबाट भाग्न नमिल्ने बताएकी छन्।
विदेशमा रहेका नेपालीहरुको अवस्था दिन प्रतिदिन असहज बन्दै गइरहेको बताउदै उनले लेखेकी छन्, ‘विश्वमानव समूदाय यतिबेला कोरोनाबाट त्राहिमाम बनेको छ। यस महामारीमा विश्वमा छरिएर रहेका नेपालीहरुको अवस्था जटिल बन्दै गइरहेको छ। यसबेलामा सरकारले अभिभावकत्व निर्वाह गर्नुपर्छ।’
संकट र असहजतामा परेको बेला नागरिकहरुले देश सम्झिने कुरालाई स्मरण गराउँदै उनी अगाडि लेख्छन्, ‘सकिन्छ तत्तकाल समस्यामा परेका नागरिकहरुको उद्दार गरियोस्, सकिँदैन जहाँ छन्, त्यहाँको नेपाली दुतावास, सम्बन्धित देशका समकक्षिसँग उचित वार्तालाप गर्नुपर्छ। जब असहजता आइलाग्छ, त्यतिबेला नागरिकहरुले आफ्नो देश सम्झिन्छन्।’