काठमाडौँ। विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिमलाई दृष्टिगत गरेर सरकारले गत चैत ११ गते आगामी जेठ पाँच गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ।
उक्त लकडाउनका कारण गरिखाने वर्ग सबैभन्दा बढी समस्यामा परेका छन्। कालिकोटबाट काठमाडौँमा आएर मजदुरी तथा विभिन्न पेशा व्यवसाय गरिरहेका मानिसहरु पनि यस लकडाउनको समस्याबाट बिमुख रहन सकेनन्।
यसरी समस्यामा परेका कालिकोटबासीलाई राजधानीमा नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही, नेपाली कांग्रेस कालिकोटका सभापति हर्षबहादुर बमलगायतका नेताहरुले खाद्य सामग्री सहयोग गर्दै आइरहेका छन्।
तरुणदल महासचिवसमेत रहेका शाही, पार्टी सभापति बमको पहल तथा राजधानीको दक्षिणकाली नगरपालिका वडा नम्बर ०९ का वडा अध्यक्ष अम्रिका बलामी र कांग्रेसका स्थानीय नेता राजेन्द्र खत्रीको समन्वयमा कालिकोटका १० परिवारलाई विहीबार खाद्य सामग्री प्रदान गरिएको हो।
उनीहरुलाई ३० किलोको १० प्याक चामलसँगै अन्य खाद्य सामग्रीसमेत प्रदान गरिएको तरुण महासचिव शाहीले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।
यसभन्दा अघि पनि महासचिव शाही, पार्टी सभापति बमलगायतका नेताहरुले राजधानीमा समस्यामा परेका कालिकोट र कर्णालीका सयौं मानिसहरुलाई खाद्य सामग्री सहयोग गरेका थिए।
सभापति बमका अनुसार अझैं पनि केही मानिसहरु बेखर्ची बनेको र असहजतामा परेको खबर गरेका छन्। उनीहरुका लागि पनि केही दिनभित्र आफूहरुले सक्दो व्यवस्था गर्ने बताएका छन्।
तस्बिर: धनराज वास्तविक