भर्ना नलिन र अनलाइन पठन-पाठन नगर्न शिक्षा समितिको निर्देशन



काठमाडौँ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालयमा शुल्क नलिन र पठन पाठन नगर्ने व्यवस्था गराउन सरकारलाई निर्देशन दिएको छ।

बुधबार बसेको समिति बैठकले कोरोना महामारीको राम्रोसँग आकलन नगरी विद्यार्थीको परीक्षा र भर्ना नगर्न, शुल्क नलिन तथा औपचारिक रुपमा पठन-पाठन नगर्ने व्यवस्था गर्न निर्देशन दिएको हो।

कोरोना भाइरसको महामारीका कारण हाल विद्यालय बन्द रहेका छन्। तर, सहरी क्षेत्रका कतिपय विद्यालयले पठन-पठान गराएको जानकारीमा आएकाले त्यस्तो गतिविधि रोक्न निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले बताइन्। अहिले औपचारिक रुपमा पठन-पाठन गर्न उपयुक्त समय नभएकाले त्यसलाई रोक्न भनिएको उनले बताइन्।

सुविधासम्पन्न विद्यालयले अनलाइनमार्फत पढाउने गरेको भए पनि त्यो खालको सुविधा हिमाली र पहाडी क्षेत्रमा सम्भव नभएकाले पठन-पाठन नगर्न नगराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको सभापति घर्तीले बताइन्।