नेकपा सचिवालय बैठकमा चर्काचर्की भएपछि प्रधानमन्त्री ओली बाहिरिए



काठमाडौं। नेकपा केन्द्रीय सचिवालय बैठकमा दुई पक्षबीच चर्काचर्की भएको छ।

रातोपाटीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका छन्।

बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली आफ्नो शयनकक्षतर्फ लाग्नुभएको बालुवाटार निकट श्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री ओली एक पद एक मुख्य जिम्मेवारीको विपक्षमा रहेका छन् तर बहुमत सचिवालय सदस्यहरु त्यसको कार्यान्वयन गर्ने पक्षमा छन्। सचिवालय बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए। बिहीबार सो पार्टीको स्थायी समिति बैठक बस्दैछ।

बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २० गतेको निर्णयअनुसार सहमतिको प्रस्ताव तयार गर्न नसकेको जानकारी नेताहरुलाई गराएका छन्।

त्यसैले बैठकको कार्यसूची वा बैठकबारे नै के गर्ने भन्ने निर्णय दुई अध्यक्षले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री एवं अध्यक्ष ओली भने आराम गर्न भन्दै निस्किएका थिए।