गर्मी हुने बेलामा पनि चिसो नघट्नुका कारण यस्ता छन्



काठमाडौँ। अघिल्ला वर्षहरूमा निकै गर्मी भइसक्ने समयमा पनि यसपालि भने नेपालका कतिपय क्षेत्रमा खासै गर्मी अनुभव गरिएको छैन। अघिल्ला वर्षहरूका तुलनामा यसपालि चैत(वैशाखमा नै धेरै वर्षा पनि भएको छ।

राजधानी काठमाण्डूसहित देशका विभिन्न भागहरूमा केही सातादेखि केहीबेर वर्षा हुने र फेरि घाम लाग्ने गर्दै मौसम बदलिरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीवारसम्म मौसमको यस्तै अवस्था रहनसक्ने सम्भावना छ।

वर्षा बढी, तापक्रम कम

मौसम विज्ञान विभागका अनुसार यसपालि नेपालका अधिकांश भागहरूमा एप्रिल र मे महिनाको सुरुमा अरू वर्षको औसतभन्दा बढी वर्षा भएको छ।
त्यस्तै तापक्रम पनि अरू वर्षको औसतभन्दा कम देखिएको छ। विभागले विगतका ३० वर्षको मौसमको तुलना गरेर यस्तो वार्षिक औसत निकाल्ने गर्छ।

मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार यस वर्ष मार्च र एप्रिल महिनामा देशका अधिकांश भागमा औसतभन्दा बढी वर्षा भएको छ।

उनले भनिन्, ‘हाम्रा स्टेशनमध्ये मार्च महिनामा काठमाण्डू र ताप्लेजुङ बाहेक अन्यत्र औसतभन्दा बढी वर्षा भएको छ। एप्रिलमा दिपायल, धनगढी, विराटनगर र ताप्लेजुङबाहेक अन्यत्र बढी वर्षा भएको थियो।’

उनले एप्रिल र मे महिनाको सुरुवातमा नेपालमा अधिकांश भागमा औसत तापक्रमको तुलनामा तापक्रम पनि कम देखिएको छ। उनले भनिन्, ‘यसबेला पहिले नेपालगञ्ज, धनगढीतिरको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारी पुगिसकेको हुन्थ्यो यसपालि निकै कम छ।’

मौसमविद्हरूका अनुसार यसपालि पश्चिमी वायुको प्रभाव ढिलोसम्म कायम रहँदा नेपालमा गर्मी हुने बेलामा पनि चिसो कायम रहेको हो। जल तथा मौसम विज्ञान विभागका पूर्व उप(महानिर्देशक राजेन्द्र श्रेष्ठले पश्चिमी वायुको प्रभाव कम नभएकैले एप्रिल र मे महिनामा पनि नियमित वर्षा भइरहेको बताए।

उनले भने, ‘पहिले पहिले यो बेलासम्म पश्चिमी वायु उत्तरतर्फ लागिसकेको हुन्थ्यो। यसपालि अझै उत्तरतिर नलागेकाले वर्षा भइरहेको छ। त्यसैको प्रभावले चिसो पनि जारी छ।’ भारतको दिल्लीमै पनि एप्रिल महिनामा धेरै वर्षपछि तापक्रम कम भएको पाइएको छ। त्यो भनेको पश्चिमी वायुकै प्रभाव हो।

चारथरी वायु सक्रिय

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा चारथरी वायुको प्रभाव कायम छ। विभागले हाल पश्चिमी वायुको सामान्य प्रभाव बाँकी रहेको जनाएको छ।

त्यस्तै स्थानीय वायु तथा पूर्वी भू(भाग नजिक बनेको न्यूनचापिय क्षेत्रको प्रभाव हुनुको साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ।

विभागकी एकजना वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार नेपालमा जाडो महिनामा पश्चिमी वायु सक्रिय हुन्छ भने मनसुन सुरु भएपछि पूर्वीय वायु सक्रिय बन्छ। त्यसबाहेक यो समयमा स्थानीय वायु पनि सक्रिय हुने गरेको छ।