लगभग दुई दशकभन्दा अगाडिदेखि मैले नेपालको राज्य व्यवस्था सञ्चालन गर्ने साशकहरु र राज्यका विभिन्न जिम्मेवार निकायमा बस्ने प्रसाशकहरु राष्ट्र र जनताको भन्दा आफ्नाबारेमा चिन्तित छन् भन्दै आएको छु।
मैले भनेका कुरा अध्ययन नगरिकन आलोचनाका लागि आलोचनाका गरेर भनेको छैन। यो देशको जिम्मेवार निकायमा बस्नेले हामीले दिएका सुझावहरु कसैले सुन्दैन यात बुझ्दैन। माओवादी युद्धका कारणसहित निराकरण खोज भन्दै मैले व्यक्तिगत रूपमा ठूलो दुःख उठाए। तत्कालिन राजा वीरेन्द्रदेखि प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालासम्मलाई भेटेरै भने। मानवअधिकारवादी भन्नेहरु९ ठूला ठालुदेखि नामुद पत्रकार भन्नेहरु सबैका सामु मैले मेरा दुःख होईन राष्ट्रका दुःख राखेको थिए। आजका दिनसम्म पनि राखिरहेकै छु।
माओवादिको युद्धदेखि आजको अवस्थासम्म मैले राष्ट्र र जनताकै रक्षा र जनताकै जीवनको सुरक्षाको प्रश्नलाई आफ्नो जीवनको प्रवाह नगरी महत्वपूर्ण रुपमा उठाए। आजकल यस्तो लाग्न थाल्यो कि मैले कस्तो घटिया काम गर्नका लागि आफ्नो जीवन बर्वाद गरेको रहेछु। निकै उर्जाशील उमेर र महत्वपूर्ण जीवन विताएछु।
जो जसले नेपाली जनताका घाँटी रटेर राज्यसत्ता कब्जा गरे, राज्यको कुनै जिम्मेवार निकायमा बसेर यात सामाजिक अभियन्ताको खोल ओढेर सबैले आफ्नो दुनो सोझ्याए, नाम कमाए, दाम कमाए, विलाशी जीवन बिताइरहेका छन्। आज तिनीहरुका पछि मूर्ख नेपालीहरु आखाँमा पट्टि बाँधेको घोडा जस्तै कुदेका छन्। लाग्छ नेपालीहरु मुद्धा के हो ? कसले उठाएका मुद्धाहरु देश र जनताको लागि छन् ? कसको पछि लाग्दा देश र दुनियाँ बचाउन सकिन्छ रु भन्ने खालका कुराहरुलाई वास्ता गर्ने हैसियत नेपालीहरुसँग बनि सकेको रहेनछ। केवल हल्ला र कोलहालको पछि दौडिने रहेछन्। आज त्यहि देखिँदैछ।
२०४६ सालको परिवर्तनपछि मैले सोचेको थिए, दास र मालिकबीचको सम्बन्ध अब टुट्यो। जनताको बिवेकका आधारमा समाज अगाडि बढ्छ। नेपाल राष्ट्रले पनि नयाँ तरिकाले आफ्नो प्राण हाल्छ। तर, मैले सोचेको ठिक बिपरित भयो। राजालाई मालिक मान्ने र राजालाई झुक्याएर आफ्नो दुनो सोझ्याउने दासहरुको सत्ता खोसेर अरु मालिकहरुको मात्र जन्म भएको रहेछ। नयाँ दासहरु र मालिकहरुको धन्दा त्यही पुरानै सत्ता र ब्यवस्थाको निरन्तरतालाई गजवको परिवर्तन भयो भन्नेमा नेपाली जनताहरु पुगे।
२००७ सालदेखि यो देशमा प्रजातन्त्रको कुरा मात्र गरिएन। पटक पटक आन्दोलन गरिए÷भए। जनताको बलिदान कति भयो भयो। २०५२ सालमा त नेपालीले नेपालीकै विरुद्ध जनवादी व्यवस्थाकै कुरा गरेर एक दशकसम्म युद्ध र प्रतियुद्ध गरियो। तर, फेरि पनि नेपाली जनताका दुःख सुन्ने र बुझ्ने व्यवस्था आएको देखिँदैन।
यो देश नेपालीका बिवेकका आधारमाभन्दा पनि बाह्य शक्तिहरुको योजनाका आधारमा चल्दो रहेछ। नेपाली नेताहरु मात्र होईन राज्यका जिम्मेवार निकायका महत्वपूर्ण ठाउँमा बसेका सबैलाई बिदेशीले खरिद गरि सकेको हुँदो रहेछ। यो कुरा कसैलाई अस्थिर मनोभावनाबाट अभिप्रेरित अभिव्यक्ति मात्र हो भन्ने लाग्न सक्छ। तर, मैले जीवनका दुई दशकभन्दा धेरै समय पत्रकारितामा बिताउँदै गर्दा देखे भोगेको यथार्थ र सत्य यही हो।
राज्यका सम्पुर्ण जिम्मेवार अंगमा बस्नेहरुलाई बिदेशीले खरिद गरि सकेको देशमा हामी जस्ताले निर्वाद रुपमा बाँच्न पाउनु पनि अहो भाग्य हो जस्तो लाग्छ। स्वर्गीय राष्ट्रवादी नेता राजेश्वर देवकोटाले भन्नू भएको थियो, ‘योगि बाबु यो देशमा देशभक्तिको सम्मान जनक जीवन बाँच्न निकै कठिन छ। सजिलो छैन।’
देवकोटाले भने जस्तै जुन सुकै राजनीतिक सिद्धान्त र विचारका नेपाली किन नहुन। देशको चिन्ता गर्नेहरुले नेपाल राष्ट्रको स्वाधिताको रक्षा हुनुपर्छ। भन्नेहरुले यो देशमा यात युद्ध लढेर मर्नुपर्ने यात राष्ट्र र जनताका लागि कुनै पनि योगदान दिन पाउने नागरिकको हकबाट बन्चित हुँदै मर्नुपर्ने मसान घाटका रूपमा यो देशलाई बुझ्नुपर्ने बाध्यता छ।
नेपाल राष्ट्र र नेपाली जनताका विरुद्धका विषयहरुलाई अध्यन गर्दा बुझ्दा जनताका भावनालाई बुझ्न सक्ने क्षमता नेपालको राजसस्थाले राख्न सक्छ र देशका लागि योगदान दिन्छौं भन्ने जुन सुकै राजनीतिक विचारका नेपालीलाई आफ्नो विचारअनुसार फल्न फुल्न दिने राजनीतिक जमिन पनि दिन्छ होला भन्ने ठानेर पछिल्लो समय राजसस्थालाई विकल्पको रूपमा व्याख्या गर्दै आएकोछु। साथै मैले जानेको र बुझेको यो मात्र एक अन्तिम विकल्प हो।
अन्यथा यो देश रहन्न। यश कारण रहन्न यो देशको राज्य व्यवस्था र राज्य सत्ताका विभिन्न अंगहरुमा बस्नेहरु बिदेशीको प्रभावमा नराम्रोसँग फसेका छन्। सबैले बुझ्ने गरि भन्ने हो भने नेपालमा राज्यसत्ता चलाउने, आन्दोलन, युद्ध र यो वा त्यो नामका समूहहरु सञ्चालन गर्ने बिदेशी खुफिया एजेन्सीहरु हुन्। यस्ता एजेन्सीहरुको अनुहार र नारा फरक भए पनि उनीहरुको उद्देश्य एउटै हो, देश मास्ने। अस्थिरता कायम गर्ने। सधै विभक्त र विभाजित बनाइ राख्ने।
धेरै अघिको कुरालाई स्मरण गर्नै पर्दैन। विश्व मानव जगत कोरोना भाइरसको महामारीसँग जुधि रहेको बेलामा नेपालका सत्ता सञ्चालकहरुले खेलेको फोहोरी खेललाई मात्र स्मरण गरे पुग्छ। अघिल्लो दिनसम्म प्रधानमन्त्री केपि शर्मा ओलीलाई सडकमै झार्नुपर्छ भन्नेहरुलाई चीनियाँ राजदुतले रातारात भेटेर मिलाइ दिएको दृष्टान्त हाम्रै आँखा अगाडि आलै छ। नेपालका राजनीतिक दल, अन्य सचेत नागरिकबीचको जुट र फुटको खेल आफ्नो विवेकले हुँदैन, बाह्य शक्तिको इशारामा हुन्छ। विदेशीको इशारामा देश र जनतामाथि साशन चलाइन्छ। अनि कसरी देश देश रहिरहला ?