यूएईमा अलपत्र नेपाली कामदारले दिए दूतावासमै धर्ना



काठमाडौँ। दुबईको इमिरेट्स क्याब ट्याक्सीमा काम गर्ने नेपाली नागरिकले मंगलबार यूएईस्थित नेपाली दूतावासमा धर्ना दिएका छन्।

काम नपाएर अलपत्र परेको भन्दै उनीहरुले तुरुन्तै नेपाल फर्काउन माग गरेका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) को सारजहामा कम्पनीको बेवास्ताले अलपत्र परेका ३० नेपालीमध्ये १७ जना श्रमिक धर्नाका लागि पुगेका थिए। यसअघि उनीहरूलाई यूएईकै प्रवासी नेपालीहरूले कोठा खोजेर राखेका थिए।

तर, कोठा भाडाको समय अवधि सकिएपछि फेरि अलपत्र हुने अवस्था आएको भन्दै उनीहरु दूतावास पुगेका हुन्। उनीहरु लगेज बाकेरै दूतावासमा पुगेका थिए।

मासिक १५ सय दिराम कमाइ हुन्छ भनेर आठ महिनाअघि युएई गएका उनीहरूलाई कम्पनीले महिना मरेपछि १ सय ८ दिराम दिन थाल्यो। ६ महिनामा पनि तलबको समस्या समाधान नभएपछि उनीहरू एक महिना अघिबाट नेपाल फर्किने प्रक्रियामा लागेका थिए। १० जना त फर्किए पनि। तर त्यति नै बेला नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि अरू उतै रोकिए।

त्यसको केही दिनपछि उनीहरू बसेको कोठामा बंगाली साहुले ताल्चा ठोकिदिए। कम्पनीबाट निकालिएका उनीहरू नेपाली राजदूतावासको बेवास्तामा पनि परे।

अनलाइन खबरका अनुसार केही दिन पार्कमै खुला आकाशमुनि रात बिताएपछि उनीहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एक महिनाका लागि कोठा खोजेर राखिदिएको थियो। तर, उनीहरूलाई खानेकुराको भने समस्या कायमै थियो। जति प्रतीक्षा गर्दा पनि न्याय नपाएपछि दूतावासको गेटमा धर्ना दिन गएको अलपत्रमध्ये एक युवकले बताए।

उनीहरु धर्नामा बसेपछि दूतावासमा वार्ता भएको थियो। दूतावासले उनीहरुलाई पुनः एनआरएनएको सहयोगमा सारजाहमा बस्ने व्यवस्था मिलाएको बताएको छ। उनीहरुलाई सारजाहसम्म लैजाने प्रवनध पनि मिलाइएको दूतावासले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ। उनीहरुलाई लकडाउन खुलेलगत्तै नेपाल फर्किने प्रवन्ध गर्ने प्रतिवद्धता दूतावासले गरेको छ।