काठमाडौँ। अनेरास्ववियूकी केन्द्रीय सदस्य तिर्सना हमालले हालकै अवस्थामा अनलाई कक्षा सञ्चालन गर्नु अव्यवहारिक हुने बताएकी छन्।
कर्णाली सन्देशसँगको कुराकानीमा नेता हमालले नेपालका दुर दराजमा फोन गर्नसमेत टाकुरा र रुख चढ्नुपर्ने अवस्था रहेको भन्दै अनलाइन कक्षा सञ्चालनले सबैलाई समेट्न नसक्ने दाबी गरेकी छन्।
प्रविधिसँग जोडिने कुरा राम्रो होइन ? भनेर सोधिएको प्रश्नको जवाफमा उनले भनिन्, ‘प्रविधिसँग जोडिने कुराको विरोध गरेको होईन। यो समयमा हाम्रो अवस्था के छ? अनलाईन कक्षामा सबै विद्यार्थीहरुलाई सहभागि गर्न सकिन्छ कि सकिदैन? यसरी दिएका कक्षाहरुको मूल्याकन कसरी गर्ने ? कुनै तयारी, छलफल र वहस हुनुपर्दैन? लकडाउनका कारण विद्यार्थी मुलुकका कुन कुनामा छन्? त्यसका बारेमा कुनै अन्दाज गर्नु पर्दैन? अनलाईन कक्षा सञ्चालनको नारा लगाएर हुन्छ? हामीसँग हाल उपलब्ध समय र अवस्था के छ ? त्यसका आधारमा हामीले आफ्ना क्रियाकलाप सञ्चालन गर्नुपर्छ।’
उनले अगाडि भनिन्, ‘दुर सञ्चारको अवस्थाका बारेमा नजरअन्दाज गरेर अनलाइन कक्षा सञ्चालन गर्नु विद्यार्थीहरुबीच असमानताको खालड सिर्जना गर्नु हो। त्यसैले यसका बारेमा सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्छ।’
अनलाइन कक्षा सञ्चालन हालका अव्यहारिक हुने भन्दै आएकी नेता हमालले भन्छिन्, ‘यतिबेला देशमा कोरोनाको कहरसँगै विद्यार्थीहरुमा आफ्नो शैक्षिक भविष्यको अन्यौलताले पनि चिन्तित तुल्याएको छ। एकातिर कोरोनाको डर छ भने अर्कोतिर आफ्नो भविष्यको डर। धेरै सपनाहरू देखेर देशका विभिन्न शिक्षण संस्थामा अध्ययन गरिरहेका आम विद्यार्थीहरुको भविष्यमा नकारात्मक असर परिरहेको छ।
यसैबीचमा विभिन्न हल्ला खल्ला भए। कसैले अनलाइन कक्षाका कुरा गरे। कसैले नयाँ शैक्षिक सत्रका लागि नयाँ भर्ना। हामीले गम्भीरतापूर्वक सोच्न जरुरी छ, कि अवश्य पनि अध्ययनका निम्ति विद्यार्थीहरुको मानसिकता नबिग्रोस् मनोबल नगिरोस् भनेर शिक्षणको नयाँ विकल्प विधि सोच्न आवश्यक छ।
तर, यहि स्थितिमा अनलाइन कक्षाका कुरा उठाउन कत्तिको उपयुक्त छ। त्यो झनै सोचनिय विषय हो। यहि स्थितिमा अनलाइन कक्षा र भर्नाका कुराहरू अगाडि बढाउने हो भने दूर दराज दुर्गमका विद्यार्थीहरुका निम्ति ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ बाहेक केही हुनेवाला छैन।
त्यसै पनि अहिले कोरोनाको त्रास र जीवनको आशले प्रायजसो धेरै विद्यार्थीहरु आफ्नो गाउँ ठाउँमा नै छन्। अब राष्ट्रिय स्तरमै सरकारले शिक्षा सञ्चार विज्ञान प्रविधि विषयमा राम्रो दखल र ज्ञान भएका व्यक्तिहरुसँग परामर्श गरि केही नयाँ विकल्प पक्कै सोच्न जरुरी छ।
देशका कतिपय स्थानहरुमा अझै बिजुली बत्तीको पहुँच नभएको अवस्थामा, जनताको जीवनस्तर खस्कदोँ अवस्थामा रहेको बेलामा विना कुनै तयारी, योजना बिना अपरिपक्व तरिकाले अनलाइन कक्षाका कुरागर्नु शिक्षामा असमानताको खाडल खन्ने दुस्साहस गर्नु हो। यतिबेला लाखौं विद्यार्थीहरुको भविष्य र सपनाहरूसँग जोडिएको विषयका बारेमा युवा विद्यार्थी संगठन पनि मिलेर केही उपाय सोच्ने बेला आएको छ। यो चुनौतीसँगै अवसर पनि हो। शिक्षालाई आधुनिकतासँग जोड्ने। प्रगतिशील पाइलाहरु चाल्ने। अनि गन्तव्यका बाटाहरु पहिल्याउने।’