अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८ हजार ९२० पुग्यो


काठमाडौँ। अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६८ हजार ९ सय २० पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा ११ लाख ७८ हजार ९ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। न्यूयोर्कमा सबैभन्दा बढी १९ हजार ५७ जनाले ज्यान गुमाएका छन्।

यसैबीच अमेरिकाले कोरोना भाइरस संक्रमणको महामारीसँग जुध्न आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन खर्ब डलर ऋण लिने भएको छ।

ऋण लिनका लागि सरकारले स्वीकृति दिइसकेको छ। यो ऋण रकमलाई स्वास्थ्य सेवा र राहत प्याकेजमा उपयोग गरिने छ। सन् २००८ मा वित्तीय संकटको बेला अमेरिकाले लिएको कर्जाको तुलनामा यो पाँच गुणा बढी हो।

अब अमेरिकाको कूल ऋण २५ खर्ब डलर पुगेको छ। अर्थव्यवस्थाको करिब १४ प्रतिशत रकम अमेरिकाले कोरोना भाइरससँग जुध्न दिइने आर्थिक प्याकेजमा खर्च गर्दैछ।

सन् २०१९ को डिसेम्बर अन्तिम सातादेखि चीनको वुहानबाट सुरु भएको कोरोनाको महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ।