सुर्खेत। प्रदेश ५ मा कोरोना संक्रमीतको संख्या बढिरहेको भन्दै कर्णाली प्रदेश ७ दिनको लागि सबै नाका बन्द गर्ने निर्णय गरेको छ।
सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो। प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने छ।
बैठकले २५ स्थानमा टोली खटाउने निर्णय गरेको भए पनि डोल्पाका दुई स्थान थप गरिएको छ। गाउँपालिकाका केन्द्र, प्रमुख बजार क्षेत्रजस्ता रणनीतिक स्थानमा टोली परिचालन गरिने छ। स्वास्थ्यकर्मीको टोलीले सम्भावित बिरामीको पहिचान गर्नको लागि स्वाब संकलन, द्रूत परीक्षण (आरडीटी्र) समेत गर्नेछ।
सरकारले सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक परिचालन गर्नेछ। प्रतिष्ठानका चिकित्सक साविकको कर्णालीमा परिचालन हुनेछन् भने सुर्खेतका चिकित्सक अन्य जिल्लामा जानेछन्। आवश्यकताअनुसार सम्बन्धित जिल्लाका चिकित्सक पनि तोकिएका स्थानमा जाने मन्त्री रावलले बताए।
स्थानीय तह र प्रदेश सरकारको समन्वयमा पछिल्लो समय उद्धारका नाममा मान्छे ओसारपोसार जारी थियो। यो निर्णयपछि अब आवतजावत ठप्प हुने भएको छ। सुर्खेत जिल्ला प्रहरी कार्यालयका अनुसार लकडाउनयता कर्णालीमा प्रवेश गर्ने प्रमुख नाका सुर्खेतको बबईबाट १० हजार ३ सय ३२ जना व्यक्ति भित्रिएका छन्।
उनीहरु गाउँगाउँमा पुगिसकेका छन्। कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार कालीकोटका २ हजार ६ सय ७४, जुम्लाका १ हजार ५ सय ३५, मुगुका १ हजार ३ सय ४९, दैलेखका १ हजा १ सय २३, सुर्खेतका १ हजार ९४, जाजरकोटका १ हजार २६, डोल्पाका ६ सय ५५, रुकुम पश्चिमका ३ सय ६६, हुम्लाका ३ सय ४ र सल्यानका २ सय ६ जनाको उद्धार भएको छ।