केही दिन पहिले एकजना दलित समूदायका भाइले “दाइ मेरो नाम निस्यो, प्रेरणाको लागि धेरै धेरै धन्यवाद दाइ म धेरै खुशी छु।” भनेर म्यासेन्जरमा एउटा म्यासेज पठाए। पढ्दा मलाई निकै आनन्द र खुशीको अनुभुत भयो।
त्यो खुशी उनको जत्तिकै त थिएन। तर, मलाई आफ्नो जीवनका केही सम्झन लायक खुशी मध्येकै महत्त्वपूर्ण खुशी लागेको क्षणका रुपमा लिएको छु। हुनत मैले सल्लाह बाहेक केही दिएको होइन। जीवनमा मभन्दा धेरै पढेका, ठूलो पोस्ट र जिम्मेवारीमा कोही दलितसाथी नभएका पनि होइनन्। विद्यार्थी, राजनीतिक वा जागीरे जीवनमा मभन्दा धेरै प्रतीभाशाली र सक्षम दलित साथीहरू भेटिनु भएको छ। उहाँहरुसँग मैले धेरै प्रेरणा पनि लिएको छु।
करिब २० वर्ष नै भएछ, वैशाखका यस्तै टाकिलो घाम थिए। बारीका कान्लामा कालै काफल, फलेदा र सिमलका राता फुलहरु लिएर रमाउदै हिड्ने अझै पबित्र र चञ्चल बालापन थियो। खेल्दै जाँदा बारी बारी काफलले कालो मुख, हातमा सिमलका राता फुल लिएर वैशाखको चर्को घाममा पसिना पसीना हुँदै म दलित दाइको घरमा पुगेछु। तिर्खा लागेको थियो, पानी मागे। हिचकिचाउदै दिएको पानी केही घुट्की खादै गर्दा दिदी मलाई खोज्दै एक्कासी आउनु भयो। “समयमा घर आउन छोडेर, कता कता डुल्छस् ?” भन्दै गाली गर्दै मलाई घरतिर डो¥याउनु भयो।
बाटोभरी गाली खादै घर पुगे। मैले दलितको घरमा पानी खाएको दिदीले देखेको कारण घरमा सबैलाई सुनाई दिइन। त्यसपछि घरमा सबैको हाउभाउ र शब्दहरु सुन्दा मैले मैले कुनै जघन्य अपराध नै गरे जस्तो व्यवहार खेप्नुप¥यो । सुनपानी छर्कने र केही विधि गरेपछि मात्र म घर पस्न योग्य भए। हुनत दलितहरु अरुको घरमा नपसेको, बाहिरै बसेर केही खाए भने पनि भाडा धोएर घाममा सुकाएर मात्रभित्र लगेको जस्ता कुराहरु त्यसभन्दा पहिले नै देखेको थिए।
जसलाई मेरो बाल मस्तिष्कले सामान्य नै ठान्दथ्यो। तर, म स्वयंम नै सहभागि भएको यो घटनापछि चाहिँ छुवाछूत प्रथाले मेरो कलिलो मस्तिष्कमा गहिरो छाप छोड्यो। जुन घटनापछि छुवाछूत प्रथा र सामाजिक ब्यबहारको विषयमा अनेक तर्क दिमागमा खेलिरहे र अहिलेको समाज र त्यो समाजबीचको अन्तर हेर्दा यी २० वर्षमा धेरै अनुभुतीहरु संकलित भए।
छुवाछूत प्रथा नेपालमा जरा गाडेर बसेको थियो। कानुनी रुपमा हटेपनि व्यवहारीक रुपमा अझै नेपाली सामाजमा अपेक्षाकृत कमि भएको छैन।
उच्च जात भनिने पुरानो पुस्ताका धेरैजसो मानिसमा अझैपनि दलितलाई भगवानले नै अलग बनाएको र उनीहरुले छोएको खाए वा सामान्य व्यवहार गरे ठूलै अनिष्ट हुने, भगवान (देउता) रिसाउने आदि जस्ता अन्धबिश्वासले जरा गाडेको छ। वास्तवमै मानिस मानिसबीच यति तल्लो स्तरको व्यवहार किन भयो ? यस खालको विभेदको खाडल साच्चै भगवानले बनाएको हो कि या अरु कसैले ? यसलाई हटाउनु पर्छ कि ? कायम गर्नुपर्छ ? उक्त घटनादेखी हालसम्म विकसित हुँदै गरेको मेरो मस्तिष्कले सिर्जना गरेका प्रश्न हुन्।
चेतना र शिक्षाको बिकास सँगसँगै यस्ता कुप्रथाले कहिलेदेखि कसरी समाजमा जीवन पायो भन्ने महत्वपूर्ण प्रश्नको ठ्याक्कै उत्तर पाइएको छैन्। र पनि यो प्रथा भगवानले नै चलाएको भन्ने विश्वास त्यतिबेला टुट्यो जातिबेला कहिल्यै भगवानलाई मुर्त रुपमा भेट्न पाइएन। ठूला ठूला प्रगतिशील र क्रान्तिकारी राजनीतिक बहस र छलफल गर्नेहरुले पनि बरु जीवनको बाजि नै राखेर राजनीतिक आन्दोलनमा होमिए। तर, उच्च भनिने जातहरुले प्रत्यक्ष परोक्ष कुनै न कुनै रुपमा यसको निरन्तरतामा भूमिका खेलिरहे।
यसको उन्मुलन भएपछि कतै शासन सत्तामा आफ्नो पहुँच गुम्ने अथवा त्यो वर्गको मत गुम्ने त होइन? दलितका नाममा दमन गर्ने वर्गको मत नगुमोस् भनेर यो कुप्रथालाई जरैदेखि उखेल्ने साहस गर्न नसकेका त हैनन् ? राजनीतिक दल र तिनका भ्रातृ संगठनले पनि निर्वाचनका समय समयमा भने देखाउन मात्र भए पनि सन्तुलन देखाई रहने र चुनाव जित्ने रणनीति तयार गर्ने गरेका छन्। तर, हालको २१औं शताब्दीमा विश्वव्यापीकरण तथा शिक्षा र चेतनाको विकास विस्तारले जातीय भेतभाव कमहुँदै गइरहेको छ।
जसको कारण उच्च भनिने जातहरुलाई नै सामाजिक गतिविधि सञ्चालनमा अप्ठेरो पर्न जाने कारणले अन्य जात जस्तै सामान्य व्यवहार गर्दै गएकाले यो प्रथा कमहुँदै गएको छ। जसका कारण अहिले समाजमा केही सहज स्थिति भएको छ। उसो त कानूनी रुपमै यसलाई बन्देज गरिएको र भतभाव गरे आफुमाथि प्रश्न उठ्ने भएकाले कसैले जातीय रुपमै किटेर भेदभाव गर्दैनन्।
संविधानमा आरक्षणको ब्यबस्था, राजनीतिक रुपमा दलित पहुँचको मुद्दाले राष्ट्रिय रुपमा स्थान पाएकाले पनि यो घट्दो क्रममा छ। अझै पनि २० वर्षको मेरो अनुभवमा पनि उल्लेख्य घट्न नसकेको यो कु प्रथा किन अझै नेपाली समाजमा बाँकी छ? भन्ने विषयका धेरै आयामहरु होलान्। एउटै लेखमा यो सबै विश्लेषण गर्न खोज्नु मुर्खता होला। तर, म जस्तै उमेरको निर्दोष दलित र गरिब बालकको मनमा कस्तो प्रभाव पारेको होला यो विषयले ? त्यसको कति धेरै मानसिक पीडा होला ? समाज कति अमानवीय रहेछ भनेर बुझ्न कुनै किताब वा दर्शन पढ्न आवश्यक छैन बरु तपाई हाम्रो वरिपरीका दैनिक घट्ने घटनाको अध्यय्न गरे पुग्छ।
एउटा बाहुन युवक भएर दलित साथीहरूले भोगेको सामाजिक दुव्र्यवहार र कठिनाई विशेषण गरेर ठिक यस्तो भनेर व्याख्या गर्न त गाह्रो छ। तर, उहाँहरुको ठाउँबाट हेर्दा, एउटा बालक जसको परिवार अरुको मजदुरी गरेर पालिन्छ। पुर्खादेखी नै अशिक्षित छ, पढाइमा राम्रो गर्ने भन्ने सामाजिक परिवेश नै छैन। पढाइमा राम्रो भएकालाई नि विभिन्न सामाजिक व्यवहारहरुले अबरोध र हतोत्साहित बनाउछ।
एउटै धर्म मान्ने समुदाय भए पनि मन्दिरमा प्रवेश गर्न पाउदैन। त्यो बालकलाई अमिट छाप परेको छ कि मलाई भगवानले नै रुचाउदैन, मैले अरुलाई छोए भने पाप लाग्छ, पढ्नुभन्दा साहुको हलो जोत्न म जन्मिएको रहेछु जस्ता धारणाहरु एउटा बाल मस्तिष्कमा पर्नु कति घातक होला। यदि हामी मध्ये धेरैले आफ्नो जीवनलाई पछाडि फर्केर हेर्ने हो भने कसैले घृणाले भनेका शब्द भुल्न कति गाह्रो हुन्छ ? मलाई सहर छिरेपछी कुनै साथीले भनेका घृणाका शब्दहरुले कति रात मेरो निद्रा खोसे भने जन्मदेखी नै हेपिएको, पुस्तादेखि नै हेपिएको, मठमन्दिरमा, मेला पात, चौर चौतारीमा, विद्यालयमा, खेलमैदानमा जता ततै हेपिएको एउटा बालकको आत्मविश्वास कति गिरेको होला ?
मलाई सहरका धनी र उच्च वर्गसँग प्रतिस्पर्धा गर्न कठिन भए जस्तै उसलाई कति कठिन भएको होला ? ठूला भनौदा जातका बार भत्काएर प्रगति गर्न ? म पनि अरु जस्तै मान्छे हुँ, पढ्न सक्छु, मैले अरु सँगै पढ्दा, कसैलाई छुदा, मन्दिर पस्दा भगवान् रिसाउँदैन भनेर आफूले आफैलाई सम्झाउन कति कठिन भएको होला ? म अरु जस्तै मान्छे त हु नि भनेर आफैलाई विश्वास दिलाउन कति मानसिक तयारी गर्नु परेको होला ? हामीले यी सब कुराको महसुस बाल्यकालमा आफैलाई परेका नकारात्मक छाप हटाउन गर्नु परेको मानसिक सघंर्षबाट हुन्छ।
मलाई म्यासेज गर्ने भाइले नाम निकालेको कुराले मलाई दोब्बर खुशी दिनुमा उसले किताब र पाठ्यक्रमको पढाईलाई मात्र जितेको छैन। यी सबै आत्मग्लानी दिने सामाजिक अवस्थालाई पनि जितेको छ। भन्ने आभासको भुमिका छ। आफूले यी सब विभेदसँग लडेर पाएको सफलतामा मलाई नि सम्झिएको भएर पनि म खुसी भएको हुँ। मनमनै सोचे गाउँमा अझै पनि अरुको अधिनमा बाँच्न बाध्य दलितका ति छोराछारीले त्यो भाईको सफलता देखेर दलितले पनि पढ्न सक्दा रहेछन्, सरकारी जागिर खान सक्दा रहेछन्। उसले जस्तै मैले पनि पहिले नै आत्मबल र वातावरण पाएको भए यसरी अरुको नियन्त्रणमा त बाँच्न पर्दैनथ्यो भनेर कति पछुताउलान् ?
हुनत समाज अहिले यति धेरै भावुक हुनुपर्ने अबस्थामा छैन। संविधान जारी भएपछिका निर्वाचनले गाँउ तहका स्थानिय पालिकामा अनिवार्य दलित महिला सदस्यदेखि प्रतिनिधी सभासम्म पनि दलित समुदायको प्रतिनिधित्वले केही हदसम्म भए पनि प्रेरणा र उत्साह पक्कै पैदा गर्ने नै छ। तथापी अझै आधारभुत वर्गलाई सबैको साहारा र समझको खाचो छ। उच्च भनिएका जातलाई दलितलाई सम्मान हौसला र समतामूलक व्यवहार गरेर माथी उठन पहल गरेर धर्म कमाउने अवसर छ। कुरा जातीय, वर्गीय, लैङ्गिक आदि जस्तो भए पनी सक्षम वर्गले तल्लो वर्गलाई दिने प्रोत्साहन र सबलीकरणले नै समाबेशी लोकतन्त्र र सामाजिक सहिष्णुतालाई बलियो बनाउछ।
(लेखक चापागाईं शिक्षण पेशामा संलग्न छन्।)