महोत्तरीमा अज्ञात रोगबाट मृत्यु हुनेको संख्या १२ पुग्यो



काठमाडौँ। महोत्तरीमा थप एक जनाको मृत्यु भएसँगै अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ।

आइतबार बिहान भंगाहा ७ का ५८ वर्षीय रुपनारायण सिंह दनुवारको मृत्यु भएको महोत्तरीका प्रहरीले जानकारी दिएको छ।

दनुवारको मृत्यु भएसँगै महोत्तरीको दुई बस्तीमा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १२ पुगेको हो। स्थानीयका अनुसार मृतक दनुवार बिहानसम्म बिरामी थिएनन्।

अचानक बिरामी परेर उनको मृत्यु भएको स्थानीयले बताएका छन्। शनिबार मात्रै बर्दिवास–१२ स्थित इँटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतीलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएको थियो।

मृतकमा एकै खालको लक्षण देखिएको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार अचानक पेट दुखेपछि बान्ता गर्ने र झाडापखला लाग्ने र अन्तिममा बिरामीको मृत्यु हुने गरेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आएको चिकित्सकहरुको टोलीले घटनास्थल पुगेर अध्ययन गरिरहेको प्रहरी उपरीक्षक अधिकारीले बताएका छन्।