नेपालमा कोरोना संक्रमितको संख्या ६९ जना पुग्यो



काठमाडौँ। बाँकेको नेपालगञ्ज र पर्सामा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणको संख्या ६९ पुगेको छ।

पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आइतबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ९ जना नेपालगञ्जमा र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। नेपालगन्जमा भेटिएकाहरु ५ महिला र ४ जना पुरुष रहेका छन्। यससँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ।

हालसम्म १६ जना कोरोना निको भएर घर फर्किएका छन्। बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेका छन् भने उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।