बेलायतका प्रधानमन्त्री बोरिसले डाक्टरको नामबाट राखे छोरोको नाम



काठमाडौँ। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफूलाई कारोनाबाट बचाउने डाक्टरहरुको नामबाट आफ्नो छोरोको नाम राखेका छन्।

कोरोनालाई जितेर फर्किएपछि उनी बाबु बनेका थिए ।प्रधानमन्त्री जोन्सन र उनकी पत्नी केरी साइमन्सले आफ्नो छोराको नाम दुई जना डाक्टरको नामबाट राखेको बीबीसीले जनाएको छ।

उनीहरुले आफ्नो छोरोको नाम ‘विल्फेड लोरी निकोलस जोन्सन’ राखेका छन्। केरीले इन्सटाग्राममा नवजात शिशुको फोटो र उसको नाम शेयर गर्दै लेखेकी छन्, ‘यसको नाम आफ्नो हजुरबुवा(हजुरआमा र बोरिसलाई उपचार गर्ने डाक्टरलाई सम्मान दिनका लागि राखिएको छ।’

छोरोको पहिलो नाम प्रधानमन्त्री जोन्सनको हजुरबुवाको नामबाट, दोस्रो नाम आफ्नै हजुरबुवाको नामबाट र बीचको नाम निकोलस, डाक्टर निक प्राइस र डाक्टर निक हार्टको नामबाट राखिएको छ। यी दुई डाक्टरहरुले प्रधानमन्त्री जोन्सनको उपचार गरेका थिए।

उनले बोरिसको उपचार भएको युनिभर्सिटी कलेज लण्डन हस्पिटलका कर्मचारीहरुलाई धन्यवाद दिँदै लेखेकी छन्, ‘मेरो खुसीको सीमा छैन, मेरो हृदय भरिएको छ।’

डाक्टरहरुको नामबाट आफ्नो बच्चाको नाम राखिनुले कोरोनाबाट प्रधानमन्त्री जोन्सनको अवस्था गम्भीर थियो भनेर अनुमान गर्न सकिने बीबीसीले लेखेको छ।

प्रधानमन्त्री जोन्सनलाई २६ मार्चमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य गम्भीर भएपछि उनलाई आईसीयूमा राखिएको थियो। अहिले पूर्णरुपमा स्वस्थ भएपछि उनी नियमित काममा फर्किएका छन्।

उनले सन पत्रिकालाई दिएको एक अन्तर्वार्तामा डाक्टहरुले कयौं लिटर अक्सिजन दिएर आफूलाई बचाएको बताएका छन्। अस्पतालबाट कहिर घर जना पाइएला भनेर आफूले सोच्ने गरेको पनि उनले बताएका छन्। ‘विश्वासै गर्न नसकिने गरी केही दिनमै मेरो स्वास्थ्य नराम्रोसँग बिग्रिएको थियो,’ उनले भने।उनले आफ्नो ज्यान जोगाइदिएकोमा अस्पतालका डाक्टर र कर्मचारीहरुप्रति कृतज्ञता व्यक्त गरेका छन्।