प्रधानमन्त्रीले सञ्चार माध्ययमलाई दिएको धम्की हतास मनस्थितिको पराकाष्ठा



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपाली जनता र विश्व मानव समूदाय कोरोनाविरुद्ध लडिरहेका बेला केही सञ्चार माध्यमहरुले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा जारी गरेको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार र नेकपाका कार्यकर्तालाई किमार्थ स्वीकार्य हुँदैन भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका छन्।

जारी गरेको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ,’मे दिवसको अवसरमा जारी शसभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ। अर्कातिर यही अफ्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरताका त्यस्ता प्रयासहरु गरिनु दुःख कुरा हो ।’

प्रधानमन्त्रीले भनेका छन्, ‘आफ्ना स(साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु।’

देश कोरोना महामारीविरुद्ध लडिरहेका बेला सरकारले दल विभाजन र सवैधानिक अंगहरुको काम, कर्तव्य र अधिकारको बारेमा अध्यादेश ल्याएपछि मुलुकमा राजनीतिक अस्थिरता सुरु भएको हो। आफैले रानीतिक अस्थिरताको आगो झोसेका प्रधानमन्त्री ओली सञ्चार माध्ययममाथि खनिन पुगेका छन्।

कोरोना महामारीका बीच बेला न कुबेला दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने ओली नै हुन्। उक्त अध्यादेश सञ्चारमाध्यम वा सामाजिक सञ्जालले ल्याएको होइन। बरु उनकै पार्टीभित्र र बाहिर उक्त अध्यादेशको चर्को विरोध भएपछि र्फितासँगै खारेज गर्न बाध्य भएका हुन्।

अध्यादेश फिर्ता र खारेजी भएपछि सरकार कोरोना महामारीविरुद्ध केन्द्रित हुनुपर्नेमा उल्टै आफ्ना पार्टीका नेताहरुलाई पद बाड्दै हिडिरहेका छन्। यसरी हेर्दा मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने खेलमा स्वयं प्रधानमन्त्री लागि रहेको कुरा सामान्य मानिसलाई समेत थाह छ। तर, प्रधानमन्त्री ओली सबैलाई मुर्ख बनाइ रहेका छन्।

मुलुकलाई लकडाउनको बन्दगी बनाएको बेला प्रधनमन्त्रीकै निर्देशनमा सांसद डा.सुरेन्द्र यादवलाई मधेशबाट काठमाडौँ ल्याउने काम भयो। जसका कारण ओलीका कार्यकर्ताहरुले लकडाउनलाई व्यवास्ता गरेर सडकमा नारा जुलुस लगाए।सरकार, नेकपा र प्रहरी प्रशासन समेतको प्रधानमन्त्रीले दुरपयोग गरे।

श्रमिक दिवसको बिहानीमा प्रधानमन्त्रीले दिएको सन्देशमा चाहिँ सञ्चारमाध्यम र सामाजिक सञ्जालले देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको लाञ्छना लगाए।  योभन्दा भद्दा जोक अरु के हुन सक्छ? आफै राजनीतिक अस्थिरताको आगो झोस्ने अनि मिडियालाई दोष दिने ? सरकार र नेकपा कार्यकर्तालाई सैह्य नहुने भन्दै धम्कीपूर्ण भाषा प्रयोग गर्ने ? त्यो पनि देशको कार्यकारी प्रमुखले ? उक्त भाषा सञ्चारमाध्यम र अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो।