काठमाडौँ। अनेरास्ववियूका संयोजक ऐन महरका विरुद्धमा साइबर अपराधको मुद्धा दायर भएको छ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नाविरुद्ध स्टाटस लेखेको भन्दै अनेरास्ववियूका संयोजक महरले बझाङ जिल्लाको छबिस पाथीभेरा गाउँपालिकाका जनकराज मण्डेल र उनको परिवारको ज्यान मार्ने धम्की दिइएको भन्दै मण्डेलका आफन्तले जीवन रक्षाको माग गर्दै साइबर क्राइम अपराधमा उजुरी दिएका हुन्।
बैदेशिक रोजगारीका लागि हाल जापान रहेका मण्डेलले आफू र आफ्नो परिवारलाई मारिदिने भन्दै अनेरास्ववियूका संयोजक महरले धम्की दिएपछि उनको परिवारका तर्फबाट देवचन्द्र मण्डेलले उजुरी दिएका हुन्।
मण्डेलले आफ्नो फेसबुक पेजमा, ‘यदी राहत बाँडेकै कारण नियन्त्रणमा लिएको हो भने ज्ञानेन्द्र शाहीलाई। अनेरास्वबियुका संयोजक ऐन महरलाई पनि तुरुन्त गिरप्तार गरियोस, यसरी लथालिङ्ग गरेर आपत बिपतको बेलामा राहतको नाममा राजनीति गर्ने अराजक गतीबिधी देखाउने ठुटे भाषण दिनेहरुलाई कार्बाही गर्नुपर्छ कि पर्दैन? कानुन सबैका लागी बराबर हुनुपर्यो। प्रहरी भनेको स्वतन्त्र निकाय हो।’ लेखेका थिए।
सोही स्टाटसलाई लिएर संयोजक महरले म्यासेनजर मार्फत आफू र आफ्नो परिवारलाई मारिदिने धम्की दिएको मण्डेलको आरोप छ।