महाकालीपारी रहेका नेपालीहरुले एक महिनापछि प्रवेश पाए



कैलाली। अन्ततः महाकालीपारी रहेका नेपालीहरुले स्वदेश प्रवेशका लागि अनुमति पाएका छन्। कर्णाली सन्देशले देशका प्रभावशाली कलाकारहरु र विभिन्न व्यक्तिहरुका विचारहरु प्रकाशित गरेर लकडाउनको पहिलो चरणदेखि नै मजदुरहरुको उद्धार गर्न सरकारलाई आग्रह गर्दै आएको थियो।

कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै सरकारले ११ चैतमा नेपाल– भारत सीमा बन्द गर्ने निर्णय गरेको थियो। करिब एक हजार नेपालीहरु लकडाउनका कारण एक महिनाभन्दा बढी समयदेखि स्वदेश फिर्तीको आशामा कालीपारी बसिरहेका थिए। बिहीबार बैतडीको सीमा नाकाबाट घर फर्किन पाएका छन्।

बैतडीको सीमा पारी रहेका नेपालीको बिहीबार विहानैदेखि उद्धार भइरहेको छ। भारतको पिथौरागड जिल्लामा करिब ८ सय नेपाली स्वदेश फिर्तीको प्रतीक्षामा रहेका जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

त्यतिबेला भारतीय क्षेत्रमा करिब २ हजार जना नेपाली रोकिएका थिए। आफ्नो गाउँ आएपछि उनीहरुले स्थानीय तहले बनाएको क्वारेन्टाइनस्थलमा बस्नुपर्ने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र नेगीले बताए।

नेपाल र भारत सरकारले सीमा क्षेत्रमा अलपत्र नागरिक जुन देशको भए पनि उनीहरु रहेकै देशको क्वारेन्टाइनमा राख्ने सहमति गरेका थिए। त्यसपछि भारतीय क्वारेन्टाइनमा दुई हप्ता समय बिताएका नेपाली स्वदेश फर्किन लागेका हुन्।