अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो


काठमाडौँ। अमेरिकामा कोरोना भाइरस ‘कोभिड–१९’ बाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म ६० हजार नौ सय ६७ मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ। त्यस्तै संक्रमितको संख्या पनि १० लाख ३८ हजार पुगेको छ।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण अमेरिकाको न्युयोर्क राज्य सबैभन्दा बढी प्रभावित बनेको छ। न्युयोर्कमा अहिलेसम्म करिब तीन लाख मानिस संक्रमित भइसकेका छन् भने २३ हजार चार सय ७७ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै न्यु जर्सीमा एक लाख १६ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने ६ हजार सात सय ७१ जनाको मृत्यु भइसकेको छ। मासाचुएट्समा पनि संक्रमितको संख्या ६० हजार नाघेको छ भने तीन हजार चार सय पाँच जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म अमेरिकामा एक लाख २० हजार सात सय २० जना निको भएर घर फर्किएका छन्। एजेन्सी