ओलीको प्रस्तावपछि नेकपाको राजनीतिमा नयाँ ट्वीस्ट



काठमाडौँ। नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपि शर्मा ओलीले आफूविरुद्ध उठेको विरोधको सामना गर्न वामदेवलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधव नेपाललााई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव अगाडि सारेर तत्तकालको संटक टारिदिएका छन्।

जुन प्रस्तावलाई जानकारहरु व्यङ्ग्यात्मक र असम्भव रहेको बताउछन्। राष्ट्रियसभा सदस्यसमेत नरहेका गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव धेरैले हास्यस्पद भनेका छन्। त्यो पनि विद्यमान कानूनले प्रतिनिधि सभा सांसदलाई मात्रै प्रधानमन्त्री हुन पाउने व्यवस्था गरेको छ।नभए कुनै निर्वाचन क्षेत्र खालि गराएर निर्वाचन गराउनुपर्छ। यो प्रक्रिया धेरै नै लामो लाग्छ। जुन प्रस्तावले प्रधानमन्त्रीलाई रक्षात्मक बन्न सजिलो त पार्छ। तर, पत्याउने कुरा भने होइन। कतिपयले नेकपाको नेतृत्वले नेता गौतममाथि बारम्बार भद्दा मजाक गरेको भनेर टिप्पणी गरेका छन्।

आखिर नेकपाभित्रको रस्साकस्सि प्रधानमन्त्री स्वेच्छाचारी बनेको र पार्टीको नीति अनुसार सरकार नचलाएको गम्भीर आरोप हो। बुधबार बालुवाटारमा बसेको सचिवालय वैठकमा प्रधानमन्त्री ओलीले अघि सारेको प्रस्तावले नेकपाको आन्तरिक राजनीतिले नयाँ आकार लिएको छ। वैशाख २० गते पुनः बस्ने सचिवायल वैठकले कुन आकार दिन्छ? त्यसको बारेमा अहिले नै भन्न सकिँदैन।

बुधबारको सचिवालय वैठकमा कसले के के भने ?

प्रचण्ड :- ‘केन्द्रीय कमिटीबाटै तपाईं पार्टी फुटाउन लाग्नुभयो। आफू पक्षीय भेला बोलाउने गर्नुभयो। यो तरिका ठिक भएन। तपाईं ली कुआन र महाथीर बन्छु भन्नुहुन्छ तर व्यवहार ठिक उल्टो भएकाले तपाई केही पनि बन्नुहुन्न’, ओलीलाई चुनौति दिँदै प्रचण्डले भने ‘अब राजीनामा दिएर पार्टी एकतालाई अक्षुण राख्नुस्।’

प्रचण्ड बोलेपछि फेरि ओलीले प्रचण्डलाई जवाफ दिए। ‘अहिले म राजीनामा दिन्नँ। कोरोनाको समय छ। सकिएपछि बरु बामदेवजीलाई कतैबाट चुनाव गराउँला र प्रधानमनत्री बनाउँला। त्यतिभए उहाँको पनि इच्छा पूरा हुन्छ। माधवजीले पनि धेरै रहर गर्नुभा’ छ उहाँलाई तेस्रो अध्यक्ष बनाउन पनि म नै पहल गर्छु, बन्नुपनि हुन्छ।’

विष्णु पौडेल :- महासचिव पौडेलले प्रधानमन्त्री ओलीको प्रस्ताव राम्रो भन्दै यसैबाट निकास निस्कने धारणा राखे।

झलनाथ खनाल:- महासचिव पौडेल बोल्दाबोल्दै वरिष्ठ नेता झलनाथ खनाल कड्किए। ‘यसरी हुँदैन। स्थायी समिति बोलाउनै पर्छ। प्रधानमन्त्रीले राजीनामा दिनैपर्छ,’ झलनाथको चर्को स्वर सुनेपछि गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादलले त्यसको प्रतिवाद गरे। अहिले प्रधानमन्त्रीको राजीनामा नमागौं । अरु विषयमा सहमति खोजौं’, प्रतिरक्षात्मक शैलीमा बादलको प्रस्तुति थियो।

इश्वर पोखरेल:- पोखरेलले पनि प्रधानमन्त्री ओलीको प्रस्ताव धेरै राम्रो भन्दै समर्थन जनाए। पोखरेलपछि बोलेका माधव नेपालले पनि प्रचण्डको भनाइप्रति समर्थन जनाए। यस्ता कुराले टुंगोमा पुग्न सकिँदैन । धेरै साथीहरुको स्थायी कमिटी बैठकको माग पनि छ। यो प्रक्रिया र विधिसम्मत पनि हुन्छ। सवै कुरा त्यहीँबाट टुंग्याउँ, उनले भनेका थिए।

यस्तै बैठकमा प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले भने पार्टी एकतालाई मजबुत बनाउनलाई पार्टीभित्र व्यापक छलफल जरुरी रहेको धारणा राखे। गत फागुन १४ गते बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो। तर, उक्त निर्णयप्रति प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली सन्तुष्ट थिएनन्। जसले गर्दा मन्त्रिपरिषद् बैठकबाट गौतमको नाम राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपति समक्ष सिफारिस भएको छैन।

त्यस यता सचिवालयले गरेको निर्णयलाई ओलीले अस्वीकार गरेको भन्दै नेकपाभित्र उनको स्वेच्छाचारीविरुद्ध मोर्चाबन्दी सुरु भएको थियो। यसै क्रममा पार्टीको निर्देशन नमानेको भन्दै प्रधानमन्त्री ओलीको चर्को विरोध भइरहेका सन्दर्भमा पछिल्लो पटक बैशाख ८ सरकारले ल्याएको अध्यादेशपछि त उनको राजीनामा नै माग्न थालियो। चौतर्फी अध्यादेशको विरोधपछि वैशाख १२ गते अध्यादेश फिर्तासँगै खारेज भयो। तर नेकपाभित्रको विवाद साम्य हुनुुको साटो बढ्दै गएको छ।