‘नेकपाले राजनीतिक स्थायित्व दिन नसके अर्को चुनावमा जनताले पत्याउदैनन्’



कालिकोट। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटका पार्टी सचिव नगिन्द्र शाही (नेशनल) ले राजनीतिक स्थायित्व र पार्टी एकताका बाँकी कामहरु पूरा नगर्ने हो अर्को चुनावमा जनताले बहिष्कार गर्ने चेतावनी दिएका छन्।

बुधबार सामाजिक सञ्जाल फेशबुक मार्फत नेता शाहीले जनता राजनीतिक स्थायित्वको पक्षमा रहेको भन्दै नेकपाको नेतृत्व पंति एक आपसमा मिल्नुपर्ने बताएका छन्। उनले लेखेका छन्, ‘दुई पार्टीको चुनावी तालमेल पछि, २०७४ सालमा संघ र प्रदेश सभाका उम्मेदवारीहरूलाई भोट माग्दै गर्दा जनतासँग मुलभूत दुई वटा वाचा गरेका थियौं। पहिलो, यो देशमा राजनीतिक स्थायित्व दिन्छौं। दोस्रो, भनेका थियौं पार्टी एकता गर्नेछौँ।’

उनले अगाडि लेखेका छन्, ‘जुन आग्रहलाई स्विकार्दै जनताबाट हाम्रो तत्कालीन गठबन्धनलाई मतदान पनि भयो। हामीले संघ, प्रदेशहरुमा सरकारहरू निर्माण गर्यौँ। साथै तत्कालीन दुई पार्टीको एकता सम्पन्न भयो। यदि कदम कदाचित राजनीतिक स्थायित्व र पार्टी एकताको काम केही नेताहरूको कारण विफल भयो भने अर्को चुनावमा जनताले पत्याउने छैनन्।’

पद र पावर कोसँग कति छ भन्ने कुरा गौण रुपमा लिनुपर्ने भन्दै जनताको बीचमा गरिएका बाचाहरुलाई पूरा गर्नुपर्ने नेता शाहीको सुझाव छ। उनले लेखेका छन्, ‘त्यसैले अहिले को पात्र प्रधानमन्त्री छ? कोसंग कति पद छन्? कसलाई के पद पुगेको छैन ? त्यो सामान्य कुरा हो। नेपाली जनतालाई राजनीतिक स्थायित्व चाहिएको छ। त्यस्तैगरी कार्यकर्तालाई एकतावद्ध पार्टी चाहिएको छ। यो समय नेकपाका निम्ति अर्को चुनाव र एकता महाधिवेशन नहुदासम्म संक्रमण काल हो। संक्रमण काल भएका कारण दुई अध्यक्ष छन्। राजनीतिक स्थायित्व भनेको पनि सरकार गठन/विगठन हुने होइन।’

सरकारका काम कारबाहीका बारेमा वहस गर्ने ठाउँहरु भएको बताउदै शाहीले अहिले नै सरकार परिर्वतन गरिहाल्नु पर्ने कुनै कारण नभएको स्पष्ट पारेका छन्। उनले लेखेका छन्, ‘सरकार संचालन र पार्टी एकता पुर्णता निम्ति छलफल गर्ने ठाउँ छन्। तर, सरकार नै परिवर्तन गरिहाल्नु पर्ने कुनै कारण छैन। यसको निकास भनेको महाधिवेशन र अर्को आम चुनाव नै हो। भन्न त भनिन्छ राजनीतिमा न सधैंको मित्र हुन्छ न सधैंको दुश्मन। तर, हेक्का चाहिँ राख्नैपर्छ। मन र दुध फाट्यो भने जोडिन गाह्रो हुन्छ। राजनीतिक स्थायित्व, पार्टी एकता विरोधी काम बन्द गरौं।’