काठमाडौँ। सरकारी वकिलको कार्यालय, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जसपाका नेताहरु सरकारी वकिलको कार्यालय पुगेका थिए। तर दुई घण्टा लामो छलफलमा पनि सरकारी वकिलको कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले दर्ता गर्न मानेनन्।
अनलाइन खबरका अनुसार बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए। डा. यादवले आफूलाई अपहरणको शैलीमा काठमाडौंमा ल्याएको बताएका छन्। समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरेका छन्।
महोत्तरीबाट काठमाडौं ल्याएको भोलिपल्ट बिहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरूको सम्पर्कमा पुगेका थिए। खनाल, श्रेष्ठ र बस्नेतले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन्।