कोरोना संक्रमितको संख्या ५४ पुग्यो, रौतहटमा दुई जना थपिए



काठमाडौँ। रौतहटको थप दुई जनामा कोरोना संक्रमण भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ।

जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ९ भुसहा र देवाही गोनाही नगरपालिका १/१ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ।

मंगलबार दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए।र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ।

त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेका छन्। काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो। सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो।