बाबुरामका विरुद्ध टेकु पुगेको अनेरास्ववियू रित्तोहात फर्कियो



काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको जाहेरी दिन टेकु पुगेको अनेरास्ववियू रित्तोहात फर्किएको छ।

सोमबार संयोजक ऐन महरको नेतृत्वमा टेकु पुगेको अनेरास्ववियू रित्तोहात फर्किएको हो। भट्टराईविरुद्ध साइबर अपराधको उजुरी लिएर संयोजक महरसहित विद्यार्थी नेता महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए।

भट्टराईविरुद्ध साइबर अपराधमा मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै अदालतमा ‘गाली बेइज्जती’को मुद्दा दर्ता गर्न सुझाएर विद्यार्थी नेताहरुलाई फर्काइएको परिसरले जनाएको छ।

नेकपाका सांसदद्धय किशान श्रेष्ठ, महेश बस्नेत र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अपहरण जस्तो गम्भीर आरोप लगाइएको भन्दै विद्यार्थी नेताहरुले भट्टराईविरुद्ध साइबर अपराधमा जाहेरी दिन परिसर पुगेको थियो।

जनता समाजवादी पार्टीका नेता तथा सांसद डा. सुरेन्द्र यादवलाई बस्नेत, श्रेष्ठ र खनालसहितको समूहले अपहरण गरेर जनकपुरबाट काठमाडौँ ल्याएको आरोप लगाउँदै भट्टराईले फेसबुक र ट्विटरमा लेखेका थिए। आइतबार भट्टराईसहितका जसपाका नेता ‘सांसद अपहरण’ को जाहेरी लिएर काठमाडौँ प्रहरीमा पुगेका थिए। सांसद यादवको जाहेरी पनि प्रहरीले दर्ता गर्न अस्विकार गरेको थियो।