बेलायती प्रधानमन्त्री बोरिस जोन्सन काममा फर्किने



काठमाडौँ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबार काममा फर्किने भएका छन्। कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण एक महिनापछि उनी काममा फर्किन लागेका हुन्।

भाइरस संक्रमणको कारण उनले एकसाता अस्पतालमा बिताएका थिए। जसमध्ये तीन रात उनी आईसीयूमा बसेका थिए। गत अप्रिल ५ मा उनको स्वास्थ्यमा खराबी देखिएसँगै उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

बेलायती विदेशमन्त्री डोमिनिक राबले सोमबारलेखि प्रधानमन्त्री आफ्नो काममा फर्किने जानकारी दिएका हुन्। जोन्सनको अनुपस्थितिमा राबले नै सहायक प्रधानमन्त्रीको भूमिका निर्बाह गर्दै आएका थिए। उनी काममा फर्किए पनि सोमबार हुने प्रेस ब्रिफिङमा उपस्थित हुने वा नहुने भन्नेबारे खुलाइएको छैन।

बेलायतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार नाघिसकेको छ भने एक लाख ५० हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन्।