काठमाडौँ। राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य वकिल बमले दैलेखका सिडियोले सरकारलाई असयोग गरेको भन्दै कारबाहीको माग गरेका छन्।
कर्णाली प्रदेश सरकारले वैशाख ९ गते लकडाउनका कारण समस्यामा परेका कर्णालीबासीको उद्दार गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार कर्णालीका विभिन्न स्थानीय तहहरुले आफ्ना नागरिकहरुलाई उद्दार गरिरहेका छन्।
शनिबार कालिकोटको पलाँता गापा र शान्नि त्रिवेणी गापाले राजधानी काठमाडौँमा रहेका आफ्ना नागरिकलाई गन्तव्यमा पुर्याउने व्यवस्था गरेको थियो। शनिबार काठमाडौँमा छुटेका बसहरु आइतबार दैलेख प्रसाशनले गुराँसेमा रोकेपछि केन्द्रीय सदस्य बमले उक्त माग गरेका हुन्।
अन्त कुनै पनि प्रदेशले बिना रोकतोक गाडिहरुलाई निवार्ध रुपमा गन्तव्य तर्फ जान दिएको तर, दैलेख जिल्ला प्रसाशनले अमानविय तरिकाले खाने पानी समेत सुविधा नभएको स्थानमा थुनेर राखेको नेता बमको आरोप छ। नेता बमकै सक्रियतामा पलाँताबासीहरुले काठमाडौँ छोडेका थिए।
उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘नागरिकको सहजताका लागि सुरक्षा र अपनत्व दिनु सरकारको जिम्मेवारी हो। तर, आज कुनै पनि प्रदेशमा नरोकी काठमाडौँबाट कालिकोट छुटेको बस आफ्नै प्रदेशमा रोकिनु दुःखत कुरा हो। लकडाउनले पिडा खेपि घर लागेका नागरिकलाई बिना कारण दिनभरि भोकभोकै दैलेखका सिडियोले थुनेर राख्नु खेदजनक छ।’
उनले अगाडि लेखेका छन्, ‘पानी पनि खान नपाउने अवस्थामा राखि सरकारलाई असहयोग गर्ने मनसायले प्रशासनको दुरुपयोग गरेकोले दैलेख जिल्लाका सिडियो कारबाहीको भागेदार हुनुपर्छ। नागरिकले दुःख पाउनु भएकोमा क्षमाप्राथि छु।’
यस विषयका बारेमा बुझ्न खोज्दा दैलेखका सिडियो युवराज कट्टेलको फोन सम्पर्क हुन सकेन।