चीनियाँ शैलीमा १० दिनमै बन्यो सुविधायुक्त अस्पताल



काठमाडौँ। चीनियाँ शैली पछ्याउँदै रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले दश दिनमा १४ शैयाको सुविधासम्पन्न अस्पताल तयार पारेको छ। विश्व महामारीका रुपमा फैलिएको महामारीलाई ध्यानमा राखेर उक्त अस्पताल निमार्ण गरिएको हो।

शुरुमा १२ शैयाका लागि बनाइएको अस्पताल १४ शैयाको बनेको छ। आवश्यक परे उक्त अस्पताललाई २० शैयाको बनाउन सकिने आठबीसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले जानकारी दिएका छन्।

कोरोना संक्रमणका विरामी भेटिए राख्नका लागि आइसोलेशन अस्पतालको रुपमा स्थापना गरिएको भए पनि दीर्घकालीनरुपमा यसलाई आठबीसकोट नगर अस्पतालको सरुवा रोग शाखा राखिने लक्ष्य राखिएको छ। आठबीसकोट नगरपालिकाले यसअघि नै २५ शैयाको नगर अस्पतालमा सञ्चालनमा ल्याइसकेको छ।

स्थानीय श्रम र स्रोत साधनको परिचालन गर्दै चैत २५ गते निर्माण शुरु गरिएको थियो। वैशाख ४ गते दश दिन अर्थात २४० घण्टामा न्यूनतम असी जनाले झण्डै ८ हजार घण्टा काम गरेका छन्। दिनराति गरेर काम गरिएको थियो। भवन निर्माण, काठ, टायल, प्लाष्टर, विद्युतीकरण आदिको काम एकैसाथ अघि बढाइएकाले पनि दश दिनमै निर्माण सम्पन्न गर्न संभव भएको हो।

कूल ८९ लाखको लागतमा भवन निर्माण गरिएकोमा ७५ लाख बजेट खर्च भएको छ भने बाँकी १४ लाख बरारको स्थानीयले श्रमदान गरेको प्रमुख केसीले जानकारी दिए। पूर्वमन्त्री एवं रुकुमपश्चिमका प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को योजना र प्रत्यक्ष संरक्षणमा भएको अस्पताल निर्माणमा उनले एक घण्टा श्रमदान गरेका थिए।

यो अस्पतालमा यही वैशाख १८ गतेदेखि सेवा शुरु गर्ने तयारी गरिएको छ। यद्यपि अहिलेसम्म यो पालिकामा कोरोनाका आशंकित विरामी एक जना पनि छैनन्। दश दिनमै यति ठूलो पक्की भवन स्थानीय जनताकै सहभागितामा निर्माण गरिएको यो नेपालकै पहिलो घटना हुनुपर्छ। यसले यो पालिकालाई थप उत्साहित बनाएको प्रमुख केसीले बताए।

त्यस्तै कर्णाली प्रदेश सरकारले गत चैत १३ गते चौरजहारी अस्पतालमा आइसोलेसन वार्ड बनाउने निर्णय गरेलगत्तै काममा जुटेको अस्पतालले अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न गरेको बताएको छ।

चौरजहारी अस्पतालले ५० शैयाको आइसोलेसन अस्पताल निर्माणकार्य अन्तिम चरणमा पुगेको अस्पतालका प्रशासक दिलबहादुर गिरीले जानकारी दिए। उनका अनुसार शीतल मावि चौरजहारीको एउटा भवनमा २० श्यया, चौरजहारी अस्पतालभित्रै चार श्यया तयार छन्। अस्पताल परिसरमा अरु २० श्ययाको अन्तिम काम हुँदैछ। दश दिनमा सक्नेगरी शुरु भएको उक्त वार्डको अन्तिम काम भइरहेको प्रशासक गिरीले बताए।