नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो



काठमाडौँ। वीरगञ्जमा थप दुई जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५१ पुगेको छ।

वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित पाइएको हो।

अर्को संक्रमित घुसुकपुरका पुरुष हुन्। उनलाई सम्भावित संक्रमितका रुपमा सिद्धार्थ मावीको क्वारेन्टाइनमा राखिएको थियो। दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ।

 विश्वभर ४९ जना नेपालीको मृत्यु

त्यस्तै कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु भएको छ। करिब १ हजार ८ सय जनामा भाइरसको संक्रमण देखापरेको छ। लण्डनबाट कोडिभ १९ उच्चस्तरी समिति गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जारी गरेको वक्तव्यमा शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको जनाइएको छ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार बेलायतमा ३३, अमेरिकामा १०, युएईमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जना गरी ४९ नेपालीको ज्यान गएको हो। विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपालीमध्ये ४३४ जना कोरोनामुक्त भएको सो समितिले जनाएको छ। एनआरएन स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर १ हजार ९८३ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन्।

संक्रमित हुनेमा देशहरुमा अमेरिका १ हजार, युके ७ सय, युएई ८१, बहराइन ४९, कुवेत ४२, प्रोतुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, स्वीजरल्याण्ड ५, बेल्जियम ६, साउदी अरब ४, जर्मनी ४, मलेशिया ३, क्यानाडा ३, न्युजरल्याण्ड ३, साईप्रस ३, जापान २, हङकंङ २, मल्टा २ र फ्रान्स १ संक्रमित रहेको समितिले जनाएको छ।