काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव नदिएको आशय व्यक्त गरेका छन्।
राजनीतिक अस्थिरताको आगो झोसेका ओलीले स्वेच्छाचारी रुपमा सरकार चलाएको र सत्ताधारी नेकपालाई अलोकप्रिय बनाएको भन्दै पार्टीभित्र विरोध चलिरहेको छ। शनिबार ओलीसँगको आफ्नो भेटबारे मनमौजी टिकाटिप्पणी भएको गौतमद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।
‘सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरूको सुझाव सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ, ’गौतमले भनेका छन्, ‘उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ, भएको यत्ति हो।’ अध्यादेश लगायतका समस्या समाधान गर्न पार्टी र पार्टी कमिटीमा प्रत्यक्ष छलफल गर्न सुझाव दिएको गौतमको भनाइ छ।