सुर्खेत। कर्णाली प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी विपद कोषमा शुक्रबार १० लाख रुपैयाँ जम्मा भएको छ।
तीनवटा संस्थाले उक्त रकम आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई हस्तान्तरण गरेका हुन्। एभरेस्ट बैंकले ६ लाख, कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) ले ३ लाख र सहकर्मी समाजले १ लाख १ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन्।
किर्डाकका कार्यक्रम व्यवस्थापक नविन शाहीले विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ विरुद्ध लड्न सरकारले थालेको अभियानमा साथ दिन सहयोग गरिएको बताए।
उनका अनुसार संस्थाले आफ्नो कार्यक्षेत्र रहेका सुर्खेत, कपिलवस्तु, कालीकोट, डोल्पा, हुम्ला, जुम्ला र मुगुमा कोभिड–१९ विरुद्ध जनचेतनाका साथै स्वास्थ्य सामग्री वितरण गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहयोगी संस्थाहरुलाई धन्यवाद दिँदै कोरोनाविरुद्धको अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताए।
तस्बिर: नविन शाहीको फेशबुकबाट