(डब्ल्यूएचओ) लाई थप ३ करोड डलर दिने चीनको घोषणा



काठमाडौं। चीनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई थप ३ करोड अमेरिकी डलर दिने घोषणा गरेको छ।

अमेरिकाले डब्ल्यूएचओलाई दिने सहयोग रोक्ने निर्णय गरेको केही समयपछि चीनले यस्तो घोषणा गरेको हो। चीनले कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइँका लागि यो सहयोग लिन लागिएको बताएको छ।

यसअघि अमेरिकाले (डब्ल्यूएचओ) ले यो महामारीलाई नियन्त्रण गर्न उचित कदम चाल्न नसकेको आरोप लगाउँदै उसलाई अहिलेसम्म दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको थियो।

चिनियाँ विदेशमन्त्री कङ शुआङले यसअघि नै दुई करोड डलर सहयोगमा अहिलेको तीन करोड डलर थप सहयोग दिन लागिएको बताएका हुन्। यसले विश्वका मुलुकको स्वास्थ्य प्रणाली बलियो बनाउन सहयोग पुग्न सक्ने बताइएको छ।

अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पले (डब्ल्यूएचओ) लाई पक्षपात गरेको आरोप लागाएका थिए। उनका अनुसार वार्षिक रुपमा अमेरिकामा कर तिर्ने मानिसहरुले डब्ल्यूएचओलाई ४० देखि ५० करोड डलर दिँदै आएका छन्। चीनले भने केवल चार करोड डलर मात्र सहयोग गर्दै आएको छ।

ट्रम्पले डब्ल्यूएचओले समयमा नै सूचित गरेको खण्डमा धेरै मानिसलाई मृत्यु हुनबाट बचाउन सकिने बताएका थिए। अहिले विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस सबैभन्दा पहिला चीनको वुहानमा देखिएको थियो। तर, चीनले अमेरिकालगायत विश्वका सबै मुलुकहरुलाई डब्ल्यूएचओलाई सहयोग गर्न आग्रह गरिरहेको छ।

साथै उसले महामारीको विषयमा वास्तविक तथ्यांक लुकाएको पश्चिमा मुलुकको आरोपलाई अस्वीकार गर्दै आएको छ। उसले डब्ल्यूएचओले कसैलाई पक्षपात नगरेको पनि बताउँदै आएको छ।

स्रोतः- एएफपी