धनराज वास्तविक
नेपालमा कम्युनिष्ट आन्दोलन शुरु भएको ७ दशक बितिसकेको छ। यी ७ दशकहरु नेपाली कम्युनिष्टका लागि निक्कै चुनौतिपूर्ण बने।
७१औँ स्थानपना दिवस मनाई रहेको सत्ताधारी कम्युनिष्ट पार्टीको सरकारले हालै (सोमबार) दल विभाजन र संवैधानिक निकायहरुको काम कर्तव्य र अधिकारसम्बन्धि अध्यादेश जारी गरेपछि पुनः राजनीति क्षेत्र हलचल बनेको छ। साथै नेपाली कम्युनिष्टहरुका विचार एक, व्यवहार अनेक भएका कारण अनेकौं प्रश्नहरु जन्मिरहेका छन्।
कम्युनिष्टको साइनबोर्ड राखेर गैरकम्युनिष्ट क्रियाकलापहरू किन हुँदैछन्? विचारलाई सर्वोच्चता मान्न कम्युनिष्ट पार्टीका वर्तमान नेताहरू किन डराइरहेका छन्? किन कम्युनिष्टहरूले सत्तालाई जनताको हितमा प्रस्थापन गर्न सकेनन्? किन सत्ताबाहिर हुँदा र सत्तामा पुग्दा कम्युनिष्टहरूका व्यवहारहरू परिवर्तन हुन्छन्? सत्तामा पुगेपछि कम्युनिष्टहरु किन स्वेच्छाचारी बन्छन् ? नाकैमूनीका आफ्ना हजारौं गल्तिहरु किन देख्न सक्दैनन् ? नातावादको चरमोत्कर्समा किन लिप्त हुन्छन्? कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु दलाल, विचौलिया र कमिशनखोरलाई किन साथी बनाउछन् ?
अर्को शब्दमा भन्नुपर्दा कम्युनिष्टहरू बारम्बार किन चुकिरहेका छन्? खासमा कम्युनिष्टलाई सर्वहारा वर्गको हितमा काम गर्न कुन तत्वले रोकेको छ? आफूलाई कम्युनिष्ट भन्नेहरुका आँखाले मजदुरहरुका तस्बिरहरु किन कुरुप देख्दैछन्? उनीहरू के कारण विभाजित र विभक्त हुन्छन्? यिनै सन्दर्भहरूलाई यहाँ चर्चा गर्ने प्रयास गरिएको छ।
सन् १८४८ मा कार्लमार्क्स र एंगेल्सले ‘कम्युनिस्ट घोषणापत्र’ लेखेका थिए। पहिलो ‘कम्युनिस्ट घोषणापत्र’ले विश्वका सम्पूर्ण मजदूरलाई संगठित गरेर मुक्तिको मार्ग पत्ता लगाउने विचार प्रदान ग¥यो। जुन घोषणापत्र विश्वका सर्वहारा वर्गको मुक्तिका लागि मार्गदर्शक पनि बन्यो। युरोपमा माक्र्सवादी र गैरमार्क्सवादीबीच चर्को बहस चलिरहँदा नेपालमा जंगबहादुर राणाको निरंकुश शासन थियो।
युरोपमा पुनर्जागरण कालखण्डको उपजका रूपमा उदाएको मार्क्सवाद अहिले पनि संसारभर बहसको विषय बनिरहेको छ। तत्कालीन सोभियत संघको पतनपछि अलोकप्रिय बनेको भनिए पनि संसारमा मार्क्सवादलाई मार्गदर्शक मान्नेहरू धेरै छन्।
तत्कालीन पूर्वी र पश्चिमी जर्मनीबीचको बर्लिन पर्खाल ढलेपछि समाप्त भएको भनिएको मार्क्सवाद पश्चिमा देशहरूमा देखिएको आर्थिक मन्दीपछि प्रिय बन्यो। अहिले पनि मार्क्सवाद चर्चामा छ। जर्मनीमा सन् १८१८ मे ५ मा जन्मिएका माक्र्स दार्शनिक, अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तकार, समाजशास्त्री, पत्रकार मात्रै नभएर एक समाजवादी क्रान्तिकारी पनि थिए।
उनको विचारका कारण जर्मन सरकारले उनलाई त्यहाँ टिक्न दिएन। मार्क्सले फ्रान्स, बेल्जियम र बेलायतमा निर्वासित जीवन बिताए। तिनै देशमा बसेर उनले आफ्नो विचारलाई संसारभर फैलाए।
नेपालमा मार्क्सवाद
उनै मार्क्स, एंगेल्स, लेलिन, माओजस्ता विश्वचर्चित माक्र्सवादी नेताहरूको प्रभाव नेपालमा पनि प¥यो। विसं २००६ वैशाख १० गते नेपालमा पहिलो कम्युनिष्ट पार्टी निर्माण भयो। भारतको कोलकातास्थित श्यामबजारमा गठन भएको नेपाल कम्युनिष्ट पार्टी २०७४ सालसम्म आइपुग्दा दुई तिहाइको सरकार बनाउनेसम्म पुग्यो।
कम्युनिष्ट पार्टीका संस्थापक नेताहरू पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी ५ जनाबाट शुरु भएको कम्युनिष्ट पार्टी आजसम्म आइपुग्दा जुटभन्दा फुटको इतिहासले भरिएको छ।
साम्यवादको लक्ष्य सुनाउने कम्युनिष्टहरू २०१७ सालमा राजा महेन्द्रको कदमलाई लिएर फुट्न शुरु गरेका हुन्। आजसम्म पनि कोही सरकारमा छन्, कोही सडकमा छन्। विचार र सिद्धान्तमा शंका, छिमेकीसँगको सम्बन्ध, पदको झगडा, एकअर्कामा अविश्वासलगायतका कारणले मात्रै कम्युनिष्ट फुटेन, यौनकाण्डको विवादमा समेत फुटेको इतिहास छ।
विसं २०१० मा नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पहिलो महाधिवेशनबाट महासचिवमा मनमोहन अधिकारीलाई निर्वाचित ग¥यो। उनलाई कम्युनिष्ट इतिहासका पहिलो र लोकप्रिय प्रधानमन्त्रीका रूपमा लिइन्छ। कम्युनिष्ट पार्टीले २०१४ सालमा दोस्रो महासचिवका रूपमा केशरजंग रायमाझीलाई पायो। उनी राजालाई मानेर अघि बढ्नुपर्छ भन्नेमा थिए। उनकै कारण २०१७ सालपछि कम्युनिष्ट पार्टी पहिलो पटक विभाजन भयो।
२०१७ साल पुस १ गते राजा महेन्द्रले शासनसत्ता हातमा लिएर निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेमहासचिव रायमाझीले त्यसको स्वागत गरे। पुष्पलाल, मोहनविक्रम सिंह, तुलसीलाल अमात्य र मनमोहन अधिकारी भने रायमाझीको विपक्षमा उभिए। रायमाझी कालान्तरमा दरबार पसे। पुष्पलाल, तुलसीलाल, मोहनविक्रम र मनमोहन जस्ता नेताहरू पनि क्रमशः शक्तिशाली कम्युनिष्ट राष्ट्रलाई हेर्ने दृष्टिकोणलाई लिएर विभाजित हुन पुगे। त्यसको असरका बाछिटा अझैसम्म पनि परिरहेका छन्।
झन्डै ७० वर्षको इतिहासमा २०७४ असोज १७ गते तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता भएको थियो। एकता भएको डेढ वर्षसम्म पनि तल्ला कमिटीले पूर्णता पाएका छैनन्। विधि, विधान र सामूहिक हितभन्दा पनि आफू र आफ्ना वरिपरिका नेता कार्यकर्ताको भविष्य हेर्न खोजिएकाले पार्टी एकताले पूर्णता नपाएको नेकपाका असन्तुष्ट नेताहरू बताउँछन्।
कहाँ चुक्यो नेपाली कम्युनिष्ट आन्दोलन?
नेपालमा यस विचारधारलाई समय सापेक्ष बनाउने या अक्षरस लागूगर्ने ? मार्क्सवादी चिन्तनलाई व्यवहारिकता दिने या आवरणका रुपमा पयोग गर्ने ? यस्ता गम्भीर प्रश्नहरु जवाफ विहिन छन्। कम्युनिष्ट विचारधारा मानव मुक्ति र समाजवादी दृष्टिकोण हुँदाहुँदा पनि यसलाई प्रयोग गर्ने क्रममा कम्युनिष्टहरु बारम्बार चुकिरहे। जनताहरुले माफि दिइरहे। तर, नेतृत्वमा पुग्ने विक्तिकै उनीहरु अपारदर्थी निर्मम बन्न पुग्छन्।
वर्ग संघर्षलाई भुल्ने र आफूहरु सत्ता, सम्पत्ति र शक्तिमा रमाउनु, गुटको नेता बन्ने सपनाहरु पाल्नु, सच्चा योग्य र क्षमतावान कार्यकर्ताहरुलाई पाखा लगाउनु, नाता गोतालाई संरक्षण गरिनु जस्ता कुरामा खासगरी नेपाली कम्युनिष्ट आन्दोलन चुकेको छ। वैचारिक रुपमा स्खलित भएको कम्युनिष्ट आन्दोनले मार्ग बदल्नुपर्छ। वैचारिक इमान्दारिता, पारदर्शीता, जिम्मेवारिता र सुशासन जस्ता कुराहरुमा नेपाली कम्युनिष्ट आन्दोलन नराम्रोसँग चिप्लिएको छ।
सच्चा नेता कार्यकर्ताहरुले पार्टी नेतृत्वका गलत कदमहरुमा आँखा चिम्लेर साथ दिनु, मौन बस्नु, कार्यकर्तीय चिन्तनबाट माथि उठ्न नसक्नु जस्ता कुराहरुमा कम्युनिष्ट आन्दोलन चुक्यो। विचार समाजवाद, व्यवहार नातावादी बन्यो। भ्रष्टहरु, दलालहरु, विचौलियाहरु, अवसरवादीहरु, पदभोगहरु, विभिन्न ब्यापारिहरुको मासुभातमा वर्ग संघर्षलाई साट्ने कामहरु भए। त्यस कारण कम्युनिष्ट आन्दोलनले जनमत पायो। तर, लोकप्रियता पाएन।
सचेत मान्छेहरुले कम्युनिष्टहरुलाई भन्न थाले, ‘अनुहार र भाषण कम्युनिष्ट भएर सच्चा कम्युनिष्ट कहिलिन सकिँदैन, आत्मालाई पहिले कम्युनिष्ट बनाउ।’ साच्चै नेपाली कम्युनिष्टहरु समाजवादी दृष्टिकोणले हेर्न योग्य छन्? यो मार्गमा उभ्याउन लायक छन् ? उनीहरुको विलासी र काम नगकिन बिताइरहेको पूँजीवादी रहन सहनको अर्थ के हो ? यस्ता धेरै कुराहरुमा वर्तमान कम्युनिष्ट आन्दोलन नाजवाफ छ। यो दुःखद अवस्था हो।
एमाले-माओवादी एकता
अस्थिर राजनीतिबाट आजित बनेका जनताले एमाले-माओवादी एक हुँदा देशमा स्थायित्व र विकास हुन्छ भन्ने अपेक्षासहित दुई तिहाइ मतद्वारा नेकपालाई जिताए। ओली-प्रचण्डले दुई तिहाइलाई समय र जनताको माग भनेर सम्बोधन गरे पनि जनताको आकांक्षा र राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुई पार्टी मिलेका हुन् भन्ने तर्क चाहिँ सत्य होइन।
तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता चुनावमा कांग्रेसलाई पराजित गर्ने र दुई तिहाइ जनमतको सरकार बनाएर शासन सञ्चालन गर्नेभन्दा पर पुगेर गरिएको थियो भने वर्तमान समयमा जे जे हुँदैछ, उनीहरूबाट भइरहेका यस्ता क्रियाकलाप देख्न पाइँदैन थियो।
पुष्पलाल, मनमोहन, मदन भण्डारीजस्ता नेताहरूले नेतृत्व गरेको पार्टीका वर्तमान नेतृत्वले विचारअनुसारको व्यवहार देखाउन नसक्नुका धेरै कारण छन्। मालिक र दासबीचको दूरी भत्काउने, धनी र गरीबबीचको दूरी छोट्याउने, समाजमा समानता कायम राख्ने र सम्पूर्ण मानिस समान अस्तित्वमा बाँच्नेजस्ता आदर्शहरू नेपाली कम्युनिष्टहरूले सत्तामा पुग्ने अस्त्र मात्रै बनाएको जानकारहरू बताउँछन्।
कम्युनिष्ट र जनताबीचको दूरी बढेको अवस्था छ। जनता नवधनाड्य बन्दैछन्। नेतृत्व र कार्यकर्ताबीचको दूरी मालिक र दास जस्तै बन्दैछ। पहुँच हुनेको भलाइ भइरहेको छ। पहँचविहीनहरूका पदचापहरू थाकेको जस्तै देखिन्छन्। लेलिन र माक्र्स विचारलाई आत्मसात् गरिरहेका नेपाली कम्युनिष्टहरू विचारअनुसार व्यवहारमा उत्रिन नसक्दा उनीहरूमाथि शंकाका नजर तेर्सिए।
यी प्रश्नका जवाफको त के कुरा, प्रश्न के हो? किन त्यो प्रश्न तेर्सियो? त्यसबारे सोच्नेसम्म फुर्सद कम्युनिष्ट पार्टीका नेताहरूसँग छैन। मार्क्सका अनुसार कम्युनिष्ट र सर्वहारा एकअर्काका परिपूरक हुनुपर्ने हो। तर, नेपालमा कम्युनिष्टका लागि सर्वहारा हुन् या सर्वहाराका लागि कम्युनिष्ट? भन्ने प्रश्न उठ्न थालेका छन्। सर्वहारा वर्गले वर्तमान कम्युनिष्टहरूबाट माक्र्सवादको अनुभूति गर्न पाइराखेका छैनन्।
सर्वहारा वर्गले नेतृत्व र आफूहरूबीचको दूरी झन् झन् टाढिएको महसूस गरिरहेका छन्। आफूलाई गरिब देखिरहेका छन्। नेतृत्वलाई सम्पन्न देखिरहेका छन्। आफूलाई पातलो र नेतृत्वलाई मोटाएको देखिरहेका छन्। वर्तमान सत्ताधारी नेकपाका व्यवहारहरूको सामुन्नेमा सर्वहारा जनताले देखिरहेका नजरमाथि शंका गर्ने ठाउँ छ र!
जब आवश्यकताका आधारमा राजनीति गर्न थालिन्छ, त्यो बेला दर्शन, विचार र दृष्टिकोण चुप बसेजस्तै देखिन्छ। त्यो समयमा व्यक्तिको सर्वोच्चता कि कानूनको सर्वोच्चतालाई प्रथम मान्ने? सिद्धान्तलाई प्रथम मान्ने वा कुन गुटलाई प्रथम मान्ने? भन्ने कुरामा विवाद शुरु हुन्छ। अझ नेपाली कम्युनिष्टहरूमा संसदीय सर्वोच्चता कि कम्युनिष्ट सर्वोच्चता मान्ने भित्री विवाद शुरु भएको गाइँगुइँ हल्ला सुनिन्छ।
पार्टीका मुख्य नेता र सरकारी संयन्त्रमा पुगेका व्यक्तिहरूले आवश्यकताअनुसार वरिपरिकालाई देख्न थालेपछि टाढाका रिसाउने नै भए। सेवा, सुविधा, पद, प्रतिष्ठा, धनदौलतका नाममा मनहरू बाझिन थालेपछि सिद्धान्त, विचार, दृष्टिकोण, पार्टीको विधिविधान मूलतः राजनीतिक तत्वहरूमा धमिरा लाग्ने खतरा हुन्छ।
कम्युनिष्ट जस्तो पवित्र शब्दको सदुपयोग गर्नुको साटो नेपालमा दुरुपयोग भएको त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापक बताउँछन्। उनी भन्छन्, ‘नेपालमा कम्युनिष्ट शब्दको दुरुपयोग मात्रै होइन, चरम् दुरुपयोग गरियो। पुष्पलाल, मनमोहन, मदन भण्डारीजस्ता नेताहरूले नेतृत्व गरेको पार्टीका वर्तमान नेताहरूले उनीहरूको विरासतलाई धान्न सकेनन्। हुन त उनीहरूलाई विरासत भनेको के हो भन्नेसम्म थाहा छैन होला ! स्वार्थको चंगुलमा फसेको नेपाली कम्युनिष्ट आन्दोलनले जनमतलाई उचित कदर गर्न नसकेको पक्का हो।’
अन्त्यमा,
भनिन्छ, धनी र गरीब रहेसम्म। हुने खाने र हुँदा खानेहरूका बीचमा समानता नभएसम्म, मालिक र दासबीचको विभेद अन्त्य नभएसम्म। सर्वहारा वर्गको सर्वाङ्ग हित नभएसम्म माक्र्सवादी सिद्धान्त जीवित रहन्छ।
नेपालमा कम्युनिष्टहरू एक पटक होइन, पटक–पटक चुकिरहँदा पनि जनताले पत्याइरहेका छन्। यसको कारण हो, विकल्पमा अर्को कुनै गतिलो र विश्वासिलो शक्ति नहुनु। नीतिगत रूपमा, व्यावहारिक रूपमा, सैद्धान्तिक रूपमा विचलित हुँदासम्म पनि जनताले कम्युनिष्टलाई उति नै पटक माफी दिइरहेका छन्।
नेकपाका वैचारिक नेता राम कार्की भन्छन्, ‘नेपाली कम्युनिष्ट पूँजीवादबाट ग्रसित छ। माक्र्सवाद सर्वहार वर्गको हुन नदिने पूँजीवाद हो। पूँजीवादको विकल्पमा कम्युनिष्ट आन्दोलन प्रतिस्थापन हुन सकेन। पूँजीवाद विश्वमै संकटावस्थामा छ। त्यसैले हामी लोकप्रिय बनेका हौँ। खास कार्यक्रम र व्यवहारले हामीलाई लोकिप्रय बनाएको भने होइन, अहिलेको अवस्था झूट बोलेर टार्न मिल्ने समय होइन।’
अन्य सामाजिक विधाको तुलनामा मार्क्सवादलाई विकास गर्न नसकिएको नेता कार्कीको भनाइ छ। वैचारिक तहबाट नेतृत्वलाई बल पु¥याउन नसकेको स्वीकार गदै कार्की भन्छन्, ‘नेतृत्वमा नैतिक तागत हुनुपर्छ। पूँजीवादी चरित्रले नेपाली कम्युनिष्टलाई कमजोर बनाएको महसूस नेतृत्वले गर्नुपर्छ। हामी आफूलाई समाजवादी भनेर भन्छौँ तर ठोस रूपमा कुनै समाजवादी कार्यक्रम सञ्चालन गर्दैनौँ। यसको एउटै कारण पूँजीवादलाई त्याग्न नसक्नु हो, कम्युनिष्टको साइनबोर्ड झुन्ड्याएर गैरकम्युनिष्ट क्रियाकलाप बन्द नगर्ने हो भने नेपालमा हामीले भन्दै गरेको समाजवाद सम्भव छैन।’