सत्ताधारी नेकपाको स्वेच्छाचारी चरित्र चरमोत्कर्षमा


समाचार टिप्पणी

विश्व मानव समूदाय कोरोना भाइरस (कोभिड-१९) बाट त्राहिमाम बनेको अवस्थामा हामी नेपाली पनि यस महामारीबाट अछुतो रहन सकेनौं। यतिखेर विश्व मानव समूदायको मनमा सबैभन्दा बढी कुनै कुराले राज गरेको छ भने त्यो कुरा हो, त्रास र आस।

वैज्ञानिकहरुका अनुसार कोरोनाबाट जित्ने एउटै उपाए खोप निर्माण हो। त्यो खोप परिक्षणको अवस्थामा छ। विभिन्न देशहरुले यस महामारीविरुद्ध लड्ने खोपको परिक्षण गरिरहेका छन्। तथापी खोप प्रयोगमा आउन कम्तिमा ६ महिना लाग्नेछ। त्यतिहुञ्जेल विश्व मानव समूदायले ठूलो क्षेति व्यहोरी सकेको हुनेछ!

यता हामीले नयाँ वर्ष २०७७ का अवसरमा प्रर्वतकीय प्रतिबद्धताका बारेमा सोच्न सकेनौं। तर, हामीले पूराना प्रतिवद्धतालाई भने भूल्नु हुँदैन। मानव समूदायले कोरोना जस्तै धेरै महामारीहरुको सामना गर्दै आजको दिनसम्म आएको छ। तर, यस महामारीले विश्वलाई नयाँ चुनौतीका सामु उभ्याएको छ भने नेपाललाई आत्मनिर्भर बन्न निर्देशन दिएको छ।

परनिर्भर सत्ता

परनिर्भरता आफैमा समर्पण शब्द हो। तर, सबै विषय र परिस्थितिमा यसको बुझाई समर्पणसँग तुलना गरिँदैन। गर्न मिल्दैन पनि। तर, देश चलाउने कुरा, विकास गर्ने कुरा, आधारभूत आवश्यकताका बारेमा सोच्ने कुरा, आफू बदलिने कुरा, जनताको मतलाई सम्मान गर्ने कुरालाई परनिर्भरताको आँखामा राखिनु हुँदैन। वर्तमान सत्ता राजनीतिक वैचारिक, आर्थिक र सामाजिक परनिर्भरताको सिकार बनिरहेको छ। आजका दिनसम्म पनि छिमेकी देशको राजनीतिक आकासमा बादल लाग्यो भने काठमाडौँको सत्तालाई असर गर्ने अवस्था अझैं जारी छ। प्रभुले जे गर्यो त्यहि गर्नु वर्तमान सत्ताको धन्दा बनेको छ। परनिर्भर सत्ताले हाम्रो देशको असंलग्न परराष्ट्रनीति बिर्सिदिन्छ। जनताको जनमत भुलिदिन्छ।

वर्तमान परनिर्भर सत्ताले परिवर्तनलाई भुल्यो। अनुदारको हद नाघ्यो। जनयुद्ध र दोस्रो जनआन्दोलन जस्ता परिवर्तनकारी आन्दोलनको महिमा के सम्झन्थ्यो? शहीदको बलिदानी भुल्यो। हिजोका दिनमा खाएका कसमहरु भुल्यो। वैचारिक धरातल भुल्यो। राजनीतिक इमान्दारिता भुल्यो। केवल धनी बन्ने सपना देख्यो। देशलाई लुट्न तम्सियो। कमिसनको खेलमा डुब्यो। जनतालाई छल्न सिक्यो। ढाट्न सिक्यो।

राजनीतिक तथा वैचारिक आर्दशलाई पोलेर खान हतारियो। नातावादी बन्न सिक्यो। पत्रकारहरुले मजदुरहरुका तस्बिर र समाचार लेख्दा प्रधानमन्त्रीले धम्कि दिनेमा पुगे। मजदुरहरुलाई देख्नै नसक्ने जस्ता प्रतिक्रिया दिन थालेका छन्। यसरी हेर्दा सत्ताधारी नेकपा स्वेच्छाचारी बन्दै गएको छ। वर्तमान सत्ता मजदुरहरुका फोटो र भिडियो किन खिचियो? भन्दै पत्रकारमाथि खनिँदैछ। मजदुहरु पैदल हिडेर गन्तव्यको दुरी छोट्याउँदै छन्। तर, सत्ताको आँखाले देख्न सकिरहेको छैन। असली कम्युनिष्टहरुका लागि योभन्दा लाजको पसारो अरु के हुन सक्छ?

अध्यादेश किचलो

विश्व मानव समूदाय यतिबेला कोरना भाइरसविरुद्धको युद्धमा होमिएको समयमा हाम्रो देश भने राजनीतिक तर्फ उन्मुख हुँदैछ। सत्तारुढ दल (नेकपा) सरकार राजनीतिक दल विभाजन र संवैधानिक निकायको काम कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश ल्याएपछि पुनः राजनीतिक तरंग सिर्जना भएको छ। सरकारले यस्ता अस्थिरताका कुराहरुमा ध्यान दिनुभन्दा कोरोनाविरुद्धको युद्धमा सक्रिय भएर लाग्नुपर्छ। विकास र समृद्धिका लागि राजनीतिक एकता र राजनीतिक स्थिरतामा पहिलो सर्त हो। ‘काम कुरो एकातिर कुम्लो ठिमीतिर’ भनेझैं नेकपाको सरकारले बेमौसी बाजा बजाईरहेको छ। जुन ताल जनताले मन पराएका छैनन्।

नेकपाले दल विभाजनसम्बन्धि खुकुलो अध्यादेश अरुलाई तर्साने मनसायले ल्याएको हो कि भन्ने कोही भ्रममा नपरे हुन्छ। यसको उपयोग सत्ताधारी नेकपाले ढिलोचाडो गर्नेछ। यसको अर्थ नेकपाले मात्रै यसको उपभोग गर्छ भन्ने होइन, अन्य पार्टीले पनि यस व्यवस्थाको भरपुर उपभोग गर्नेछन्। त्यसपछि राजनीतिक अस्थिरता सिर्जना हुने पक्का छ। मनोमानी ढंगले ल्याएको अध्यादेश राष्ट्रपतिले पनि हतार हतारमा प्रमाणिकरण गरिन्। यस हतारले सरकारप्रति झन् शंका जागेको छ। संसदमा यसका बारेमा बाँकी दिनमा कस्तो वहस हुन्छ? त्यसका लागि पनि केही समय पर्खिनैपर्छ।

हाम्रा यस्तै प्रवृत्तिका कारण जनता र देशलाई पर्दाखेरी सानोभन्दा सानो आवश्यकता पूरा गर्न सक्दैनौं। धेरै पर जानै पर्दैन २०७२ सालमा गएको भूकम्पका बेला जनतालाई त्रिपाल दिन नसकेको यथार्तसामु वर्तमान सत्ताले भूकम्प गएको ४ वर्षसम्म पनि चेत फेर्न सकेन। त्यसको एक उदाहरण हो कोरोनाको कहरमा जनतालाई मास्क दिन नसक्नु। सरकारको लाचारी र सत्तामा पुगेकाहरु मालामाल बन्ने प्रवृत्तिले यस्ता कुराहरु बारम्बार दोहोरी रहन्छन्। विद्यमान संविधान समाजवादोन्मुख भनिएको छ। त्यो कुन समाजवाद हो ? स्पष्ट छैन। मनलाग्दि गर्न पल्केको सत्ता र राजनीतिक दलका नेताहरुले मनपरी रुपमा ब्याख्या गर्न सजिलोहोस् भन्नका लागि पनि यसो गरिएको होकि ?

जे होस् समाजवादका लागि राष्ट्रिय पूँजी निर्माण र उत्पादन न्युनतम सर्त ह्न। त्यतातिर हाम्रो ध्यान गएको छैन। कम्युनिष्ट पार्टीको सत्ता छ। तर, सक्ता सञ्चालनको शैली पूँजीवादहरुको भन्दा भिन्न छैन। दलाल पूँजीवादले विश्व नै आजित छ। तर, विश्वका सत्ताहरुले त्यहि पूँजीवादलाई अंगालो हालेर हिडिरहेका छन्। वैज्ञानिक समाजवादको पहिलो बाधक तत्व भनेको दलाल पूँजीवाद हो। कोरोनाका कारण ग्रसित बनेको अमेरिकाले पूँजीको नाममा त्यहाँका नागरिकहरुको जीवनमागि खेलवाड गरिराखेको छ। यसरी हेर्दा अमेरिकाले पूँजीलाई राज्दै गर्दै अन्य मुलुकहरुले जीवन रोजिरहेका छन्।

नयाँ वर्षमा पुराना प्रतिवद्धता

नयाँ वर्षमा हामीले नयाँ प्रवर्तकीय योजना र सपनाहरु अघि सार्न नसके पनि पूराना प्रतिवद्धतालाई कार्यान्वयन गर्न भने इमान्दार बन्नुपर्नेछ। समाजवादको पक्षमा र दलाल पूँजीवादका विरुद्धमा यो वर्ष पनि सचेत नागरिकहरुले सिगौरी खेलिरहनु पर्नेछ।

विचार र सिद्धान्तलाई पोलि खानेहरुलाई यत्ति भन्न छोड्नु हुँदैन, ‘कि तिमीहरु सच्चियौ, होइन भने बाटो खालि गर।’ विचार समाजवादी, प्रवृत्ति नातावादी? कम्युनिष्ट पार्टीका मान्छेहरुका दलाल साथी? नारा चर्का, काम अर्का ? राजनीति दलका नेता कार्यकर्ता र जनताहरुले गर्नुपर्ने अर्को प्रतिवद्धता भनेको आफू पहिले सुध्रिने या अरुलाई पहिले सुधार्ने ? यि दुई मध्ये कुन व्यवहारिक र वैज्ञानिक छ ? यसका बारेमा प्रष्ट नभएसम्म हाम्रो हालत यहि हुन्छ।

जब राष्ट्र सम्पन्न हुँदै जान्छ, तब जनता आफै सम्पन्न र खुशी हुन्छन्। यहाँ व्यक्तिहरु बढेमानका धनी बने। नीजि क्षेत्रको दिन दुई गुणा, राता चारगुणा उन्नती भयो। राज्यलाई पर्दाखेरी गेट बन्द गर्ने नीजि अस्पतालहरु खुले। शिक्षालाई ब्यापार गर्ने स्कुलहरु खुले। मिटर ब्याज उठाएर मोटाउने सहकारी र बैंकहरु स्थापना भए। हामीले यि सबैकुराहरु भोग्दै गर्दा कोरोनाका विरुद्धको युद्ध सुरु भयो।

नेपाल सम्भावित जोखिमतर्फ उन्मुख

जानकारहरुका अनुसार नेपाल कोरानाको सम्भावित जोखिमको बाटोमा हिडिरहेको छ। उक्त जोखिम सरकारको सक्रियता र जनताको धैर्यतामा निर्भर रहनेछ। कोरोनाको महामारीसँग जुध्ने र देशलाई बचाउने काममा सरकार कत्ति सफल हुन्छ? त्यो समयले देखाउला। तर, आजको तस्बिरले अन्य रोगका बिरामीहरुल समेत उपचार नपाएका देखाउछ। अस्पताल खोज्दा खोज्दै धेरै बिरामीको मृत्यु भइसकेको छ।

कोरोनाविरुद्धको युद्ध जित्न सरकारको प्रभावकारिता, सक्रियता र जनताको धैर्यताको खाँचोपर्छ। राज्यले कर्तव्य र दायित्वबाट भाग्न मिल्दैन। देश तथा बिदेशमा रहेका हरेक नागरिकका लागि राज्यछ भन्ने आभास हुनुपर्छ। यस्तो बेलामा पनि कमिसनको खेलमा लाग्नु, हतारमा निर्णय गर्नु, फुर्सदमा पश्चताप गर्नु जस्तो लाजको पसारो अर्को के कुरा हुन्छ ? सत्तारुढ नेकपाकी नेता रामकुमारी झाँक्रीले एक ठाउमा भनिनेको स्मरण हुन्छ। मन्त्रीहरुले भ्रष्टचार नगर्ने हो भने आधा भ्रष्टचार रोकिन्छ।’

यो कुरा पूरा सत्य होईन। मुलुकको भ्रष्टचार अन्त्य गर्ने हो भने मन्त्रीभन्दा पहिले प्रधानमन्त्रीले भ्रष्टचार गर्न छोड्नुपर्छ। हाम्रा प्रधानमन्त्रीको भ्रष्टचारी मानसिकता सफा हुनुपर्छ। करोडौंको कमिसन काण्डमा मन्त्रीहरु संलग्न हुन्छन्। चौतर्फि विरोध हुन्छ। हरेक आधारहरुले मन्त्रीहरु दोषि देखिन्छन्।

तर, प्रधानमन्त्री तिनै भ्रष्टहरुको बचाउमा उभिन्छन्। त्यो भन्दा ठूलो भ्रष्टचार अर्को के हुन सक्छ ? को हुन सक्छ ? मन, चरित्र, प्रवृत्ति र विचार, सिद्धान्तलाई आदर्श मान्ने मान्छेले उल्लेखित सबै कुराको बर्खिलाप गर्छ कि वचाउ ? भ्रष्टचारी मानसिकता नभएको मान्छेले म भ्रष्टचार गर्दिन भनेर नारा लगाउन आवश्यक हुन्छ? समाजवादी संविधान कार्यन्वयको जिम्मा पाएका प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलहरुले समाजवाद भनेको ९० प्रतिशत व्यवहार हो भन्ने कुरालाई किन नजरअन्दाज गरेका ? सरकारी कार्यालयमा लेखिएका शब्दहरु र हाम्रो प्रधानमन्त्रीको तादात्यताको छेउ टुप्पो मिल्दैन।

राजनीतिक दलले बोकेका विचार व्यवहारको कुनै आकार मिल्दैन। अनि जनता र देशलाई बर्बात पारेर तीनपुस्ते धनी बन्ने सपना देख्ने नव सामान्तवादीहरुले कोरोनाको कहरमा पनि धनी बन्ने रहरलाई मार्न सकेका छैनन्। आजको समयमा उल्लेखित कुराहरु सब तपसिलका कुरा हुन्। विगतदेखि आजका दिनसम्म जिउँदा प्रवृत्ति हुन्। त्यस्ता अवैध चित्र र चरित्रहरुको दाहसंस्कार गर्ने प्रतिवद्धता कायम राख्नुपर्छ। आजको परिस्थितिमा जीवन र स्वतन्त्रता दुबै रोज्नु जनताको नैसर्गिक र मानव अधिकार दुबै हो।

अन्त्यमा, राजनीतिक शास्त्रले भन्छ, ‘साशन सत्ता परिवर्तन भएर खासै अर्थ राख्दैन। राज्य सञ्चालनको चरित्रले समाज र देशलाई ठूलो अर्थ राख्छ।’ जनघाती, जनविरोधि काम गर्नेहरु कोही पनि राष्ट्र र जनताका ठूला सत्रु हुन्। उनीहरुको अन्त्य निश्चित छ। नीतिगत भ्रष्टचार, मिलिजुली भ्रष्टचार, बेभिचार, दुराचार, पक्षपात, कमिसन जस्ता अनुसाशनहिन कुराहरुको खुलेर विरोध गर्नुपर्नेछ। वैचारिक, राजनीतिक, प्रेस स्वतन्त्रता र जनताका मौलिख हकको सुरक्षा गर्नु पर्नेछ।

समाजमा रहेका रुढ चिन्तन र अराजक प्रवृत्तिको जरा उखेलेर फाल्नुछ। आफूलाई समाजवादी भन्नेहरुको विलासी रवैयामाथि प्रश्न गर्नुपर्ने छ। सत्तामा रहेर दानी बन्नेहरुको विलासीता कसरी चल्छ ? आफू नबदलिने तर, देश र जनतालाई बदल्छु भन्नेहरु नव सामान्तवादी हुन्। यिनका विरुद्धमा आवाज बुलन्द गर्नुछ। उल्लेखित सबै प्रतिवद्धताहरु पूरानै हुन्। नयाँ केही छैनन्। कोरोना महामारी मात्रै होइन, शासक चिन्ने अवसर पनि हो। धन्यवाद।