दल विभाजनसम्बन्धि अध्यादेश राष्ट्रपतिद्वारा जारी



काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले प्रस्ताव गरेको अध्यादेश जारी गरेकी छन्।

राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दलसम्बन्धी ऐनको परिच्छेद ६ मा रहेको दल त्याग सम्बन्धी व्यवस्था संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत मत पुर्‍याए दल त्याग गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेताविना नै बैठक बस्न सक्ने र निर्णय गर्न सक्नेगरी अध्यादेश ल्याउने निर्णय पनि गरेको छ। आकस्मिक रूपमा राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याइएपछि राजनीति तरंगित बनेको छ।