दल विभाजन सम्बन्धि अध्यादेश बेमौसमी बाजा: नेपाली कांग्रेस



 

काठमाडौँ। सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अघि सारेको अध्यादेशलाई नेपाली कांग्रेसले बेमौसमी बाजाका रुपमा टिप्पणी गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसारकै ध्यान कोरोना महामारीमाथि विजय हासिल गर्ने तर्फ रहेको भन्दै यो बेलामा सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने सरकारको निर्णयलाई बेमौसमी बाजाका रुपमा टिप्पणी गरेका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘बेमौसमी बाजा नबजाऔं। संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने हो। नेपाल देशका लागि पनि यतिबेला अन्य सबै विषय गौण छन् र गौण रहनुपर्छ। हाम्रो सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहनैपर्छ। जय नेपाल।’

संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने हो। नेपाल देशका लागि पनि यतिबेला अन्य सबै बिषय गौण छन्। गौण रहनुपर्छ। हाम्रो सम्पुर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकता पुर्वक समर्पित रहनैपर्छ।’

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दलसम्बन्धी ऐनको परिच्छेद ६ मा रहेको दल त्याग सम्बन्धी व्यवस्था संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत मत पुर्‍याए दल त्याग गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेताविना नै बैठक बस्न सक्ने र निर्णय गर्न सक्नेगरी अध्यादेश ल्याउने निर्णय पनि गरेको छ। आकस्मिक रूपमा राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याइएपछि राजनीति तरंगित बनेको छ।