गोरखामा छुटेका कर्णालीका मजदुर भन्छन्, ‘असुरक्षित हुने डरले हामी हिडेनौं’



 

काठमाडौँ। लकडाउनका कारण घर जान नपाएर गोरखामा रहेका कर्णालीका ९ जना मजदुरहरुले कोरोनाबाट असुरक्षित हुने डरले आफूहरु पैदल नहिडेको बताएका छन्।

जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ५ स्थित मिलन बस्ति निमार्ण गरिरहेका कर्णालीका २२ जना मजदुहरु असहज महसुस गरेपछि केही पैदल हिड्न बाध्य बनेका हुन्। २२ जना मजदुर मध्ये १३ जना पैदल हिडेर गन्तव्य तर्फ लागेको गोरखामा रहेका तिलक वलीले जानकारी दिए।

उनले भने, ‘यहाँ अहिले हामी ९ जना मात्रै छौं। आइतबार हिडेका १३ जना मजदुहरु रुकुम, सुर्खेत, बाँकेलगायतका जिल्लाका छन्। उनीहरु हिडेर गए। हामीले त नजाउ भनेका हौं। कोरोनाको पनि डर छ। कता कता पुगिन्छ। कता हिडिन्छ। के थाह कसलाई कतिबेला के हुन्छ? यस्तो बेलामा यति बसेर संघर्ष गरौं भनेको हुँ। उहाँहरुले मान्नु भएन, हिड्नु भयो। असुरक्षित हुने देखेर हामी हिडेनौं।’

तपाईंहरुलाई खाने बस्नको लागि कस्तो छ अवस्था ? भनेर सोधिएको प्रश्नको जवाफमा वलीले भने, अहिलेसम्म भोकै बस्ने अवस्था त आइलागेको छैन। भोलिको दिनमा के हुने हो था छैन।

कोरोना भाइरस (कोभिड-१९) को जोखिमलाई दृष्टिगत गरेर सरकारले लकडाउन जारी राखेका कारण असहजतामा परेका पैदल हिडेर घर जान बाध्य बनेका हुन्।

उनीहरुलाई सामुदायिक सेवा केन्द्र गोरखा र जिल्ला प्रशासन कार्यालयको समन्वयमा आइतबार ट्रक चढाएर चितवन पठाइएको थियो। सोमबार बिहान चितवनको नारायणगढ पुगेको उनीहरु कतै पैदल त कतै ट्रकमा चढेर कर्णाली प्रदेशमा प्रवेश हुने छन्।

कर्णाली प्रदेश सरकारले आफ्ना नागरिकहरुको उद्दारमा चासो नदेखाएको भन्दै चौतर्फि विरोध भएको छ। यस विषयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मजदुरहरुको अवस्थाका बारेमा जानकारी गराउँदा केन्द्र सरकारको निर्देशनका कारण उद्दारमा कठानाई सिर्जना भएको र समस्या समाधान गर्न कर्णाली सरकार लागि परेको बताए।