पहुँचका आधारमा मजदुरहरुको उद्दार गर्न थालिएको भन्दै नेता बमको आपत्ति



काठमाडौँ। राष्ट्रिय युवासंघ, नेपालका केन्द्रीय सदस्य तथा नेकपा कालिकोटका सचिवालय सदस्य वकिल बमले पहुँचका आधारमा मजदुरहरुलाई उद्दार गर्न थालिएको भन्दै आपत्ति जनाएका छन्।

पहिलो चरणको लकडाउनदेखि नै असजिलोमा परेका व्यक्तिहरुलाई व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गर्दै आएका नेता बमले आइतबार सामाजिक सञ्जाल फेशबुक मार्फत पहुँचका आधारमा मजदुरहरुको उद्दार गर्न थालिएको भन्दै विरोध जनाएका हुन्।

उनले लेखका छन्, ‘कोरोना भाइरस (कोभिड-१९) ले विश्वलाई चुनौती दिएको छ। यो अहिलेको ज्वलन्त परिवेश हो। संसार त्राहिमाम बनेको छ। त्यसको प्रभाव नेपालमा पनि परेको छ। यहाँका थुप्रै मजदुरहरु पीडित छन्। दुःखि छन्। यो पिडा देख्दा मन भकानिन्छ। तर, पनि यहाँको परिवेश हेर्दा पहुँच र पावरका आधारमा कत्तिपय जिल्लाका मजदुरलाई व्यवस्थापन तथा उनीहरुको उद्दार गरिएको छ। राज्यले पहुँचका आधारमा घर पठाइ रहेको देखिन्छ।’

कर्णाली प्रदेशबाट उपत्यकाका विभिन्न जिल्ला र नुवाकोट, काभ्रे, गोरखालगायत जिल्लामा रहेका मजदुरहरुको उद्दार तथा व्यवस्थापनमा राज्यको ध्यान नगएको भन्दै नेता बमले सरकारलाई पहुँचका आधारमा नागरिकमाथि विभेदकारी व्यवहार नगर्न चेतावनी दिएका छन्।

उनले लेखेका छन्, ‘मेरो गृह जिल्ला कालिकोटका नागरिक जो काठमाडौँमा एक छाक टार्न मुस्किल खेपिरएका छन्। दु:खि सुत्केरी महिला छन्। बिरामी र मजदुरहरु छन्। उनीहरुको दयनिय अवस्था छ। व्यवस्था परिवर्तनको लागि लडेका कालिकोटका जनता अहिले कोरोनाका कारण घरजाने अधिकारबाट बन्चित छन्। साच्चिकै राज्यको पहुज हुने जिल्लाका नागरिकहरुले मात्रै यो सत्ताको उपयोग गर्ने हुन्? यो मेरो गुनासो र प्रश्न हो। म अझैं पनि ति कालिकोटका सम्पूर्ण नागरिकहरुको व्यवस्थापन तथा उद्दारका लागि प्रयासरत छु।’