काठमाडौँ। अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरको नेतृत्वमा आइतबार करिब आठ सयजना विद्यार्थीहरुलाई खाद्य सामग्री प्रदान गरिएको छ।
संगठनका केन्द्रीय सदस्य तथा (आरआर) क्याम्पसका स्ववियु सभापति तपेन्द्रजंग शाहीका अनुसार लकडाउनका कारण समस्यामा परेका विद्यार्थीहरुलाई राहत प्रदान गरिएको हो।
८ सय जना विद्यार्थीहरुलाई १५ केजिका दरले चामल, एक केजि दाल र एक केजि चिनी प्रदान गरिएको सभापति शाहीले कर्णाली सन्देशलाई जानकारी दिए।
उनले भने, ‘चौथो चरणको लकडाउनपछि समस्यामा परेका विद्यार्थी साथीहरुलाई थोरै भए पनि सहयोग गरिएको छ। चामलसँगै एक केजि दाल र एक केजि चिनी प्रदान गरेका छौं। स्थानीय तहले प्रदान गरेको राहत पर्याप्त नभएको र कतिले राहत नै नपाएको भनेर खबर गर्नुभयो। त्यसैले हामीले स्थानीय वडा पालिकासँगको सहकार्यमा उक्त राहत वितरण गरेका हौं।’
सभापति शाहीका अनुसार अनेरास्ववियूले राजधानीको जडिबुटी, तीनकुने, शंखमुल, थापागाँउ, शान्तिनगर, गोपिकृष्ण, मैतिदेवी, अस्कल, चौमतीलगायतका स्थानमा रहेका विद्यार्थीहरुलाई खाद्य सामाग्री प्रदान गरिएको हो।
गत चैत ११ गतेदेखि लकडाउन गरिएको थियो। वैखाश १५ गतेसम्म लगडाउन जारी गरेको सरकारले लकडाउनलाई केही खुकुलो बनाउने गृहकार्य गरेको छ।
कोरोना भाइरस (कोभिड-१९) नामक महामारीले यतिबेला विश्व मानवप जगत संकटावस्थामा पुगेको छ। त्यसको असर नेपालमा पनि परेको छ। यस्तो समयमा समासेवी, व्यवसायी तथा सहयोगी मनहरुको सहयोग तथा अनेरास्ववियूको पहलमा समस्यामा परेका विद्यार्थीहरुलाई राहत वितरण गरिँदै आइरहेको सभापति शाहीको भनाई छ।
अनेरास्ववियूका सचिवालय सदस्य, मोती बिक र नारायण घर्ती त्यसैगरी केस पंखज भण्डारी, सागगर भट्टलगायत नेताहरु खाद्य सामग्री हस्तान्तरण कार्यक्रममा सहभागि रहेका थिए।
यो समाचार तयार गर्दाको समयसम्म कोरोनाका कारण विश्वमा एक लाख ६० हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ। त्यस्तै २३ लाखाभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित बनेका छन्। नेपालमा ३१ जना संक्रमित बनेका छन् भने चार जना निको भएर घर फर्कि सकेका छन्।