कोरोना महामारीमा चीन जिम्मेवार देखिए परिणाम भोग्नुपर्छ: ट्रम्प



काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिनुमा जिम्मेवार देखिए चीनले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

शनिबार उनले चीनलाई चेतावनी दिँदै नियतवश फैलाइएको पाइए चीनले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन्। तर, उनले अमेरिकाले कस्तो कदम चाल्छ भन्ने विषयमा भने केही बताएनन्।

शनिबार नियमित ब्रिफिङमा बोल्दै ट्रम्पले चीनको ‘कमजोर’ अर्थतन्त्र, कोभिड–१९ को तथ्यांकबारे उठेको प्रश्न र भाइरसविरुद्ध चालेको सुस्त कदमले आशंका जन्माएको बताए।

ट्रम्पले कोरोना भाइरसबाट मृत्यु हुनेमा अमेरिका सबैभन्दा अगाडि नरहेको जिकिर गरे। उनले अहिलेसम्मको अवस्थामा अमेरिका धेरै ठूलो मुलुक भएकाले मृत्यु हुनेको संख्या बढी देखिएको उल्लेख गरे।

उनले बेलायत, इटाली र स्पेनजस्ता मुलुकको तुलनामा अमेरिका ठूलो मुलुक भएकाले मृत्यु हुनेको संख्या बढी देखिएको उनको जिकिर छ। उनले सञ्चारमाध्यमले अमेरिकालाई सबैभन्दा प्रभावित भनेकोप्रति आक्रोश व्यक्त गर्दै पहिलो नम्बरमा अमेरिका नभई चीन रहेको बताए। उनले चीनमा मृत्यु हुनेको संख्या पनि अमेरिकामा भन्दा धेरै रहेको बताए।

रियलक्लियर पोलिटिक्सको तथ्यांकअनुसार अमेरिकामा प्रति १० लाख मानिसमा एक सय १९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । जबकी बेलायतमा यो संख्या दुई सय ३२ छ भने इटालीमा तीन सय ९४ तथा स्पेनमा चार सय ४१ छ।

सोही आधारमा ट्रम्पले जनसंख्याको आधारमा मृत्यु हुने संख्यालाई तुलना गर्नुपर्नेमा जोड दिएका हुन्। तर, चीनमा भने १० लाख मानिसमा केवल तीन दशमलव ३ मानिसले मात्र मृत्यु भएको तथ्यांक छ।

ट्रम्पले कोरोना भाइरस फैलिनुमा चीन जिम्मेवार रहेको बताउँदै आएका छन्। शनिबार पनि उनले कोरोना भाइरसको महामारीमा चीनले पारदर्शिता नदेखाएको र यसलाई नियन्त्रणको कदम निकै ढिला मात्र चालेको बताए।

उनले चीनले समयमा नै यो भाइरस रोकेको भए अहिले विश्वभर यसको महामारी नफैलिने दाबी गरे। तर, ट्रम्प आफैंले पनि भाइरस नियन्त्रणको लागि समयमा नै उचित कदम चाल्न नसकेको आरोप खेप्दै आएका छन्।

स्रोतः द साउथ चाइना मर्निङ पोष्ट