पूँजीवादको अन्त्य समाजवाद होइन: नन्दबहादुर बिष्ट 



नन्दबहादुर बिष्ट,

मानव समाजको उत्पतिदेखि वर्तमान समयसम्म विश्व मानव जगतका लागि विभिन्न कालखण्डमा विभिन्न खालका संकटहरु देखा पर्दै आइरहेका छन्। यस्ता विभिन्न कालखण्डमा देखा परेका संकटहरु कुनै सुस्त ढंगबाट फैलिदै गए त कुनै तीव्र गतिमा फैलिए। तर, समस्याहरुको समाधान पनि सोही ढंगबाट नै निर्मूल हुँदै गए।

आज फेरी विश्वको मानव जगत कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट त्राहिमाम बनेको छ। विश्वका लाखौ करोडौ मानिसहरु डर र त्रासको भुमरीमा एकान्तवासको जीवन निर्वाह गर्न वाध्य भएका छन्। महामरीको आक्रमणमा परि ज्यान गुमाउनेहरुका आफन्तजन तथा परिवारजनहरुका पीडालाई सम्हालि नसक्नु अवस्थाका रहेका छन्। मृतकका आफन्तहरुले एक पटक पनि विदाइको अनुहारसमेत देख्न पाएका छैनन्। सायद मानविय संवेदनाका लागि योभन्दा ठूलो पीडा अरु नहुन सक्दछ।

एकातिर दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरु एकछाक टार्नका लागि भौंतारीरहेका छन् भने अर्को तिर यस्तो संकटकालिन समयको फाइदा उठाउँदै पूँजीपति वर्गले श्रमिक तथा निम्न आयश्रोत भएका जनताको सेवा तथा उनीहरुको उद्दार गर्ने नाममा आफ्ना प्रतिनिधि पत्रका माध्यमबाट सत्ता तथा सरकारमा वसेकाहरुलाई प्रयोग गरि भ्रष्टचार तथा देश लुट्नमासमेत तल्लिन रहेका हुन्छन्। खास गरी यस्तो संकटकालिन अवस्थामा भ्रष्टाचार गर्नेहरु पूँजीपतीहरुकै लगानीमा सत्तामा पुग्दछन् र पूँजीवादी दलालहरुका प्रतिनिधि पात्रका रुपमा उनीहरुकै इच्छा अनुरुप सत्ता र सरकार संचालन गर्दछन्।

यतिवेला विशेषतः पूँजीवादी विश्व शक्तिराष्ट्रहरु र कोरोना भाइरस कोभिड-१९ बीचमा निकै ठूलो टकराव पैदा भइरहेको छ। ३१ डिसेम्वर २०१९ मा चिनको वुहानमा क्षेत्रमा देखा परेको कोरोना भाइरस कोभिड-१९ ले सुरुवातमा खासै असर नगरे पनि आजको अवस्थासम्म आइपुग्दा अमेरिकी साम्राज्यवाद तथा पूँजीवादीहरुको मुख्यालय अमेरीकालाई समेतलाई कोरोना भाइरसले ठूलै चुनौति दिइरहेको छ।

शुरुका दिनहरुमा महामारीले चीनलाई आक्रमण गरिरहँदा पश्चिमा मुलुकहरु हर्ष उल्लास मनाउदै विश्व सर्वहारा वर्गका नेता माओ त्सेतुङको मुखमा मास्क लगाएको तस्बिर विभिन्न अखबार र रंगमञ्चहरुमा छपाउनमै व्यस्त रहेका थिए। भिडभाड र कोलाहलको वेप्रवाह गर्दै विभिन्न होटेल र रेष्टुराहरुमा मोजमस्ति गरिरहेका थिए। यद्यपि अमेरिकी राष्ट्रपतिले समेत कोरोना भाइरसाई चाइनिज भाइरस भन्दै सार्वजनि अभिव्यक्ति नै दिए। आज अमेरिका त्यहि माहामरी कोरोना भाइरस कोभिड-१९ को शिकार बनिरहेको छ। लाखौं अमेरिकी नागरिकहरु महामारीको चपेटामा परि अस्पतालका शैयामा मृत्युसंग लडिरहेका छन भने हजारौं अमेरिकी नागरिकहरुले ज्यान गुमाईसकेका छन्।

तसर्थ मानव समाजमा भएका विभिन्न खालका घटना परिघटनाहरुसंग नवउदारवादीहरु निकै चनाखो भैरहेका छन्। उनीहरु आज पनि समाजवादका नाममा विभिन्न खालका स्वरुपहरु लिएर संसारभर आफ्नो वर्चश्व बचाइरहेको छन्। नवउदारवादीहरुकै चपेटामा विश्वका अति विकाशिल राष्ट्रहरु परिरहेका छन्। आज प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संसार भर नवउदारवादहरुले आफ्नो जाल फिँजाइरहेका छन्।

आज अमेरिका दलाल पूँजीवादी र साम्राज्यवादीहरुको उद्गम स्थल तथा प्राधान कार्यालय हो। यतिमात्र होइन संसारकै गोला बारुदको मुख्यालय पनि हो। खास गरि अमेरिकी साम्राज्यवाद तथा अमेरिकी पूँजीवाद विकासशील तथा कम्जोर मुलुकहरु माथिको हस्तक्षेप र त्यहाँ भएका प्राकृतिक स्रोतसाधनहरुको लुटमा नै केन्द्रिकृत रहेको छ। उसंग भएको सैन्य तथा सैन्य हातहतियारबाट कम्जोर मुलुकहरुलाई सधैं डर र त्रास देखाउँदै विकासशील देशको प्राकृतिक स्रोत र साधनहरु लुटिरहने अमेरिकी पुँजीवाद तथा साम्राज्यवादको रणनीति हो । तर, आज यहि कोरोना भाइरसका कारण अमेरिकी पुँजीवाद नराम्रोसंग थला पर्ने संकेत देखा परिरहेको छ।

जब १७८९ मा फ्रन्सेली राज्यक्रन्ति शुरु भयो। तव सम्भ्रान्त वर्ग तथा वुर्जुवा उदारवादीहरुको कम्जोरीलाई पछ्याउदै अमेरिकी नवउदारवाद संस्थागत भयो। जुन वुर्जुवाहरुको नजरमा नवउदारवाद प्रगतिशील देखिएता पनि यसको मुख्य लक्ष्य भनेकै अमेरिकी पूँजीवाद तथा पूँजीपतिहरुको पक्ष पोषण गर्नु नै रहेको थियो।

आज विश्वको को ९० प्रतिशत सम्पत्ति मुठ्ठीभरका केही पूँजीपतिहरुसँग सञ्चय भएको हुँदा आज एउटै भाइरसले विश्वको अर्थव्यवस्थमा ठूलो हलचल पैदा गरेको छ। यसरी सम्पूर्ण विश्वको अर्थतन्त्रको ९० प्रतिशत केही मनिसहरुको कब्जामा भइरहँदा यस्तो विषम परिस्थितिमा श्रमजिवी, सर्वहारा तथा निम्न र मध्यम वर्गहरुमा निराशा पैदा हुनु तथा उनिहरुको दैनिकीमा संकट उत्पन्न हुनु स्वभाविक नै हो तर यसरी उत्पन्न भएको संकटकालिन अवस्थाले पूँजीवादको अन्त्य पनि हुँदैन र कम्युनिष्टहरुले सोचेको र परिकल्पाना गरेको जस्तो समाजवादको शुरुवात पनि हुँदैन।

खासगरी आजको विश्व ब्रमाहण्ड पूँजीसँग आधारित रहेको छ। आजको मानव समाजको स्वरुप पनि पुँजीको आधारमा निर्माण भएको छ। निम्न आय तथा निम्न पूँजी भएको समाज मध्यम पुँजी भएको समाज र उच्च तथा सम्पन्न पुँजी भएको समाज। मानव समाजको आश्यकतासँग जोडिएको उत्पादन प्रर्णाली पूँजीको आधारमा लगानी हुन्छ। जसको एकमात्र उदेश्य रहन्छ पूँजीसंग थप पुँजीको आर्जन गर्नु। आजको पुँजीवाद आफ्नो भौतिक आवश्यकता परिपुर्ति गर्नका लागि लगानी भएको हुँदैन केवल पुँजीको निर्माणका लागि मात्र केन्द्रिकृत रहन्छ। यसका लागि श्रमजिवी सर्वहारा वर्ग होस् या पुँजीपति वर्ग होस् आ-आफ्नै ढंगबाट पुँजीको निर्माण गरेका हुन्छन्।

श्रमजिवी वर्गले आफ्नो श्रम वेचेर आयआर्जन तथा पूँजी को निर्माण गर्दछ भने पूँजीपति वर्गले आफ्नो कल कारखाना तथा उद्योग धन्दाहरुबाट आफ्नो आयआर्जनका साथै पूँजी को निर्माण गर्दछन्। फरक यतिमात्र रहन्छ श्रमजिवी तथा सर्वहारा वर्गको आयआर्जन तथा पूँजीको निर्माण सिमित रहन्छ भने पुँजीपति वर्गहरुको आयआर्जन तथा पूँजीको निर्माण असिमित रहन्छ। त्यसैले आजको मानव समाज यति सम्म लाचार बनेको छ दया, धर्म, संस्कार, रितिरिवाज, विचार, आदर्श, लोकतन्त्र, गणतन्त्र आदि सवै पुँजी निर्माण तथा पूँजी आय आर्जनका अगाडी निरिह बन्दछन्। यी सवै चिजहरु सहायक बन्दछन भने पूँजी निर्माण प्रधान बनेको हुन्छ। पूँजीवाद एउटा उत्पादन प्रर्णाली हो भने अर्को तर्फ सिङगो मानव समाजको सामाजिक संरचना पनि हो।

पूँजीवाद मुख्यत राज्यको तीनवटा क्षेत्र आर्थिक, राजनीतिक र समाजिक तथा सांस्कृतिक क्षेत्रसंग सम्बन्धित रहन्छ। त्यसैले विश्वमा देखिरहेको महामरीले पूँजीवादको अन्त्य हुन्छ। समाजवादका ढोकाहरु खुल्छन् तथा विश्व मानव समाज समजवादको तिर उन्मुख हुँदैछ भन्ने आशा गर्नु नितान्त गलत हो। बरु पूँजीवादी समाजवादको शुरुवात हुन सक्दछ। जसमा हरेक निम्न आयश्रोत भएका श्रमजिवी, सर्वहारा वर्गका नागरिकहरुका आवश्यकता पुरा गर्नका लागि पूँजी निर्माण भई आयआर्जनमा लगानी हुन्छ। जसले गर्दा श्रमजिवी सर्वहारा वर्गका नागरिकहरुले एक छाक खान र एकसारो लाउनकै लागि तडपिरहनु पर्ने अवस्था रहने छैन। हरेक समाजमा रहेका श्रमजिवी, सर्वहारा वर्गका नागरिकहरुको जीवनस्तरमा परिवर्तन भई नयाँ पूँजीवादी समाजवाद को निर्माण हुनेछ।

आजको चीन त्यहि पूँजीवादी समाजवाद तर्फ उन्मुख रहेको छ । जसरी पहिलो विश्वयुद्ध पश्चात लेलिनको कुटनीतिक चालका कारण रुसमा समाजवादको पहिलो झण्डा फहरायो र लेलिनले रुसको विकास र समाजवादको स्थापना गर्न सफल भए। ठिक त्यसरी नै विश्व जगतमा कोरोना भाइरस कोभिड-१९ जस्तो महामरी रोग संग लडिरहेको वखतमा चीनले भने कोरोना भाइरस संग लड्नका लागि पूर्ण रुपमा सफल नभएता पनि आंशिक रुपमा सफल भयो र विश्वमा कोरोना महामारीसँग लड्नका लागि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ।

यसको उदेश्य एउटै हो विश्वमा अव चीन एउटा पुँजीवादी समाजवाद शक्तिशाली राष्ट्र भएर उदाउने उद्देश्यका साथ अगाडी बढेको छ। किनकि चीनले खुल्ला बजार अर्थतन्त्र र निजी पुँजीलाई प्रवद्धन गर्दै आइरहेको छ । भित्रभित्रै अमेरिका चीन संग निकै डराइरहेको छ। विश्व ब्रमाहण्ड नै कोरोना भाइरस कोभिड-१९ ले आक्रान्त बनाइरहेका बेला  अमेरिका टसमस भएको छैन । लाखौ अमेरिकी नागरिकहरु कोरोना भाइरस कोभिड-१९ बाट ग्रसित छन हजारौले ज्यान गुमाइसकेका छन् । आजसम्म पनि अमेरिकाका कुनै पनि शहर तथा राज्यहरु लकडाउन गरिएका छैनन्।

यसको एउटै कारण हो अमेरिकी अर्थव्यवस्था आउनसक्ने गिरावट र चीनले अमेरिकालाई पछाडी पार्न सक्ने डरको कारण हो । अवका केहि दिनमा अमेरिकाले कोरोना भाइरसलाई काबुमा ल्याउन सक्ने अवस्था भएन भने विश्वको सवैभन्दा ठूलो डरलाग्दो भयावहको स्थितिको समाना गर्नु पर्नेछ। जसको कारणबाट अमेरिकी अर्थव्यवस्था धारासायी बन्नेछ र लाखौं नागरिकहरु समेतले ज्यान गुमाउनु पर्ने खतराका संकेतहरु देखिरहेका छन् भने उता कोरोना भाइरस कोभिड-१९ संग आंशिक रुपमा सफलता प्राप्त गरेको अबको चीन विश्वकै शक्तिशाली पूँजीवादी समाजवाद राष्ट्रको रुपमा स्थापना हुनेछ।

तसर्थ मानव समाजमा भएका यस्ता महामारी तथा संकटहरुको समाधान विशेष गरी अर्थव्यवस्थामा सन्तुलन कायम गर्नसक्ने समाजवदी अर्थव्यवस्थमा मात्र सम्भव रहन्छ। विश्वका कुनै पनि मुलुकमा रहेका समाजको अवस्थाहरुलाई गहन ढंगबाट अध्ययन गर्दा पूँजीवादी अर्थव्यवस्थासंग जोडिएर रहेका छन्। हरेक दिन ज्याला मजदुरी गरेर दिन काट्ने श्रमजीवि श्रमिकहरु देखि लिएर सुविधा सम्पन्न जीवन यापन गर्ने पूँजीपतिहरुको दिनचर्या त्यहि पूँजीकै आयआर्जनसँग व्यतित रहन्छ। यस्तो संकटकालिन अवस्थामा कुटनीतिक र चतुर्र्याइका माध्यमबाट पूँजीवादी समाजवादको स्थापना गर्ने सुनौलो अवसर चीन समु देखा परेको छ। जसका कारण विश्व समाज एउटा पूँजीवादी समाजवाद तर्फ उन्मुख रहनेछ। ताकि पूँजीवादको अन्त्य र समाजवादको शुरुवात भने होइन।

(लेखक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश-काठमाडौं सम्पर्क कमिटी सदस्य हुन्।)