आफ्ना दुई जना नागरिक लिन आयो भुटानबाट जहाज



काठमाडौँ। लकडाउनका कारण अलपत्र परेका आफ्ना दुई जना भुटानी नागरिक ९एकजना पाइलट र एकजना अभिनेत्री० लाई उद्धार गर्न शनिबार त्यहाँको सरकारी ध्वजाबहाक वायुसेवा ड्र्यक एयर काठमाडौं आएर फर्केको छ ।

बिहान ७ः५३ बजे रित्तै काठमाडौंमा अवतरण गरेको ड्र्यक एयरको ब्रान्ड–न्यू एटीआर–४२–६०० जहाजले काठमाडौंमा अलपत्र परेर स्वदेश फर्किन अपिल गर्ने पाइलट सोनाम तोब्गे र अभिनेत्री उगेन छोदेनलाई ९ बजे लिएर फर्केको थियो।

‘म २८ दिनदेखि ठमेलको तिब्बत गेष्ट हाउसमा बसिरहेकी थिएँ,’पारो पुगेर कान्तिपुरको सर्म्पकमा आएकी उगेनले भनिन, ‘नेपालमा कोरोना भाइरसका विरामी बढ्न थालेपछि बस्न सकिनँ। अनि ठमेलमा रहेको सार्क अफिसमार्फत् मेरो देशको परराष्ट्र मन्त्रालयलाई उद्धारका लागि अपिल गरें।’

काठमाडौंमा भुटानको दुताबास नभएकाले उनले सार्कमार्फत् आफ्नो सरकारसँग इमेलबाट पत्राचार गरेको बताइन्। ‘सार्कलाई पनि लेखे, परराष्ट्रलाई पनि लेखे अनि सार्कले पनि मेरो देशको परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिदियो,’ नेपाली चलचित्र ‘२ नम्बरी’को छायांकनमा मात्रै ८० दिन नेपालमै बिताएको बताउने उनले तीन दिनको इमेल पत्राचारपछि आफ्नो मुलुकले जहाज पठाइदिएको बताइन्।

‘काठमाडौंमा अरु भुटानी नागरिकको पनि खोजी भएको थियो तर शनिबारपारो फर्किने मसहित दुईजना मात्रै भयौं,’ उनले भनिन। उनीसँगै १ घन्टा १५ मिनेटको उडानमा फर्किएका अर्का पाइलट सोनाम काठमाडौंमा रहेको निजी वायुसेवा कम्पनी हिमालय एयरलायन्समा आबद्ध भुटानी नागरिक हुन्। अभिनेत्री उगेनले अब २१ दिनको क्वारेन्टाइन बसाईपछि मात्रै आफ्नो घर जाने बताइन्।

‘आजदेखि पारोको एउटा रिसोर्टमा राखिएको क्वारेन्टाइनमा बसेकी छु,’ उनले त्यहाँबाट भनिन, ‘मसँगै नेपालबाट आएका पाइलटलाई पनि अर्को रिसोर्टको क्वारेन्टाइनमा राखिएको छ। २१ दिनपछि मात्रै मेरो परिवारसँग भेट हुनेछ।’

चार्टर उडान खर्च भने यी दुवैले मिलेर जुटाएको उनले बताइन्।‘हामीलाई जम्मा ५ हजार १ सय ४६ अमेरिकी डलर चार्टर भाडा भनिएको थियो। दुवैले बराबरी तिर्‍यौं।’ यस हिसाबले दुबैले ६ लाख २७ हजार रुपैयाँ दामाशाही तिरे। यसबाहेक यदि जहाजले पारोमा अवतरण गर्न नसकेर कुनै अर्को गन्तव्यमा आपतकालीन अवतरण गर्नुपर्ने भएमा दुवैसँग ६ हजार २ सय डलरका दरले १५ लाख रुपैयाँ अतिरिक्त सेक्युरिटी डिपोजिट पनि मागिएको थियो।

कान्तिपुरका अनुसार अभिनेत्री उगेनले आफ्नोतर्फको रकम थिम्पुमा रहेका उनका बुबाले ड्र्यक एयरको भुटानस्थित बैंक अफ भुटानमा रहेको खातामा जम्मा गरिदिएको बताइन्। त्यहाँ जम्मा भएको भौचरको स्लिपको फोटोकपीसहित काठमाडौंस्थित सार्कमा आवेदन दिएपछि सार्कले नागरिक उड्डयन प्राधिकरणमा चार्टर उडानका लागि अनुमति लिइदिएको थियो।

ड्र्यक एयर काठमाडौंमा सातै दिन उडान गर्दै आएको वायुसेवा कम्पनी हो। यसले ३३ वर्षदेखि काठमाडौंमा उडान गर्दै आएको छ। ‘भुटानबाट खाली जहाज आएर दुई जना यात्रुमात्रै लिएर फर्केको पहिलोपटक हो,’ सम्बद्ध एक अधिकारीले भने।