भारतमा कोरोनाबाट एकैदिन ४३ जनाको मृत्यु, संक्रमितको संख्या १४ हजार नाघ्यो



काठमाडौँ। भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या चार सय ८० पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा करिब एक हजार नयाँ संक्रमित पनि थपिएका छन्। यससँगै समग्र संक्रमितको संख्या पनि १४ हजार तीन सय ७८ पुगेको छ।

भारतको महाराष्ट्रमा सबैभन्दा धेरै दुई सय एक जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ। भारतको सबैभन्दा प्रभावित यो प्रान्तमा अहिलेसम्म तीन हजार तीन सय २३ संक्रमित फेला परिसकेका छन्। मध्यप्रदेशमा ६९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ। त्यस्तै दिल्लीमा ४२ तथा गुजरातमा ४१ जनाको मृत्यु भएको छ।

भारतको उत्तर प्रदेशमा अहिलेसम्म १४ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने आठ सय ४९ जनामा यसको संक्रमण देखिएको छ।

नेपालसँग सीमाना जोडिएको अर्को प्रान्त बिहारमा अहिलेसम्म कोरोना भाइरसका ८३ जना संक्रमित फेला परेका छन् भने दुईजनाको मृत्यु भइसकेको छ । भारतमा अहिलेसम्म एक हजार नौ सय ९२ संक्रमिन निको भएर घर फर्किसकेका छन्।