कर्णाली सरकारको सिफारिसमा प्रदेश प्रमुखद्वारा पाँचौ अधिवेशन अन्त्य



सुर्खेत। कर्णाली प्रदेश सरकारले बिहीबार प्रदेश सभाको पाँचौ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेसँगै प्रदेश प्रमुखले पत्र पठाएर अधिवेधन अन्त्य गरेको घोषणा गरेका छन्।

कर्णाली प्रदेश मन्त्रिपरिषदको वैठ्कले आज (शुक्रबार) राती १२ बजेबाट प्रदेश सभा अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो। उक्त सिफारिसअनुसार प्रदेश प्रमुखले पत्रमार्फत पाँचौ अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन्।

त्यस्तै वैठ्कले स्थानीय तह, जिल्ला र प्रदेशले फरक स्थानीय तह, जिल्ला र प्रदेशका वासिन्दालाई विभेद र अपमानजनक व्यवहार गर्ने, आफ्नो सिमा कटाई अलपत्र छोड्ने जस्ता कार्यहरु भइरहेका भन्दै सुरक्षा र संरक्षणका लागि सम्बन्धित निकायलाई निर्देशन दिन केन्द्र सरकारसँग आग्रह गरेको छ।

नागरिकलाई समान व्यवहार गर्न र सम्मान जनक सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकारलाई आग्रह गर्ने निर्णय भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि तथा प्रवक्ता विमला केसीले बताइन्।

वैठ्कले कोराना भाइरसका कारण प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन चाहने व्यक्ति वा संघसंस्थाले सिधै समुदायमा पुगी राहत वितरण गर्न नपाउने र राहत रकम वा सामाग्री सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराई स्थानीय तहबाटै वितरण गर्ने व्यवस्था मिलाउने निर्णयसमेत भएको प्रवक्ता केसीको भनाई छ।