मारवाडी सेवा समितिद्वारा मास्क, पञ्जा र सेनिटाइजर हस्तान्तरण



काठमाडौँ। मारवाडी सेवा समितिले काठमाडौँ उपत्यकामा सरसफाईमा खटिने कर्मचारीहरुका लागि मास्क, पञ्जा र सेनिटाइजर हस्तान्तरण गरेको छ।

बुधबार काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयलाई समितिले १० हजार थान मास्क, १० हजार थान पञ्जा र एक हजार थान सेनिटाइजर प्रदान गरेको राहत समितिका संयोजक महावीर घिरैयाले जानकारी दिएका छन्।

त्यस्तै समितिले लकडाउनका कारण खानाको समस्यामा परेका बिरामीका लागि मारवाडी सेवा समितिले खानाको व्यवस्था गरेको जनाएको छ।

संयोजक घिरैयाका अनुसार राजधानीको बनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा डायलाइसिस गराइरहेका बिरामी, बिरामीका कुरुवा एवं केन्द्रका कर्मचारीका लागि मारवाडी समितिले खानाको व्यवस्था गरेको हो। समितले वैशाख १ गतेदेखि दैनिक बिहान बेलुकाको खाना एवं दिउँसो खाजासमेत दिंदै आएको छ। केन्द्रमा करिव २५० जना कर्मचारी छन्।

१९९० को भूकम्पदेखि आजका दिनसम्म देशलाई परेका हरेक असहजतामा साथ दिदै आएको मारवाडी समूदाय यतिखेर कोरोना भाइरसको महायुद्धमा सरकारलाई सहयोग गरिराखेको छ।

कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानीमा संयोजक घिरैयाले भने, ‘लक डाउन सुरु भएको समयदेखि नै हामीले सरकारलाई सहयोग गर्न सुरु गरेका हौ। सडकमा रहेका सुरक्षार्की, पैदल यात्रालाई खानेपानी, खाजालगायत सामग्री उपलब्ध गरिराखेका छौं। हाम्रो मारवाडी युवा मञ्चले पाँचसय पीपीई थानप्रदान गरेको छ तथा शुक्रबार टेकु अस्पताललाई एकथान सेनिटाइजेशन बुथ प्रदान गरेको छ। आजै वीर अस्पताललाई पनि एकथान सेनिटाइजेशन बुथ हस्तारन्तरण गरिएको छ। त्यस्तै अन्य सरकारी अस्पताललाई पनि प्रदान गर्ने योजना रहेको छ।’

ज्यालादारी, विपन्न वर्ग र सहजतामा परेका ६५ सय परिवारलाई मारवाडी सेवा समितिले राहत प्रदान गरेको संयोजक घिरैयाले जानकारी दिएका छन्। उनका अनुसार काठमाडौँ महानगरका ३२ वटैवडा कार्यालयसँग मिलेर १२ केजिका दरले खाद्य सामग्री वितरण गरिएको थियो।