जुम्लामा म्याद नाघेको नुन वितरण गर्ने डिपोमाथि सीलबन्दी



जुम्ला। जिल्ला प्रशासन कार्यालय, जुम्लाले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय सिंजामाथि सीलबन्दी गरेको छ।

गत चैत २८ गते डिपोबाट खरिद गरिएको आयोडिन नुन जिल्लाको हिमा गापाले वितरण गरेको थियो। म्याद नाघेको नुन वितरण भएको थाह पाएपछि स्थानीय बासिन्दासहित नेपाली कांग्रेस जुम्लाका नेता कार्यकर्ताले आवश्यक छानवि गरि दोषी उपर कारबाहीको मागसमेत गरेका थिए।

जिल्ला प्रशासन कार्यालय, जुम्लाले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालयका बारेमा सामाजिक सञ्जाल फेशबुक मार्फत पनि जानकारी दिएको छ।

जिल्ला प्रशासन कार्यालय, जुम्लाले सामाजि सञ्जालमा लेखेको छ, ‘चनं १५१३ मिति २०७६।१२।२८ मा वितरित नुनको गुणस्तर सम्बन्धमा पत्रप्राप्त भएको मितिले ३ दिनभित्र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय, सिंजालाई वितरित नुनको गुणस्तर सम्बन्धमा लिखित जानकारी पेश गर्नु भनी पत्राचार गरिए बमोजिम उक्त कार्यालयबाट चनं ५ मिति २०७६।१२।३० गते यस कार्यालयमा प्रेशित पत्रअनुसार माग गरिए बमोजिमको विवरण प्राप्त नभएकोले पुन:जिल्ला प्रशासन कार्यालय, जुम्लाबाट चनं १५३९ मिति २०७७।०१।०३ गते जनस्वाथ्य तथा स्थानीय शान्ति सुरक्षामा प्रतिकुल प्रभाव पार्ने अवस्थालाई मध्यनजर गर्दै उक्त कार्यालयको गोदाममा रहेको नुन विक्री वितरण कार्यालयलाई अर्को आदेश प्राप्त नभएसम्म रोक्न निर्देशन दिईएको थियो।

उक्त कार्यलाई प्रभावकारी रूपमा अनुसन्धान सम्पन्न गर्नको लागि आज मिति २०७७।०१।०४ गते इलाका प्रशासन कार्यालय, नराकोटका का।मु। कार्यालय प्रमुख मधुशंकर उपाध्याय, सिंजा गाँउपालिका वडा नं। ३ का वडा अध्यक्ष तिला चन्द्र चौलागाई, प्रनानि भुपेन्द्रबहादुर शाही, सिंजा गाँउपालिका वडा नं ३ का रतनबहादुर शाही र सोही वडाका प्रेम प्रसाद उपाध्याय, सन्तोष धितालको रोहवरमा डिपो भवनको मूल ढोकामा रहेको तालामाथि अर्को ताला लगाउनुका साथै भवन बाहिर रहेको ४८ (अड्चालीस) बोरा नुनसमेत सील गरिएको छ।’