जनार्दनको नेतृत्वमा कोरोना विशेष अस्पताल १० दिनमै तयार



काठमाडौँ। कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिमलाई दृष्टिगत गर्दै कर्णाली प्रदेको रुकुम पश्चिमका स्थानीय तहहरुमा कोरोना विशेष अस्पताल निर्माण भइरहेका छन्।

जिल्लाका ३ स्थानीय तहमा कोरोना विशेष अस्पतालहरु निर्माण भइरहेको नेकपाका नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले कर्णाली सन्देशलाई जानकरी दिएका छन्। रुकुमका जनप्रतिनिधिसमेत रहेका शर्माको विशेष पहलमा निर्माण भइरहेका अस्पतालहरुको निर्माण १०/१० दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

मन्त्री शर्माले बुधबार सामाजिक सञ्जाल फेशबुक पेजमा लेखेका छन्, ‘हामी पनि सक्छौं र सक्नुपर्छ। कोरोना महामारी नियन्त्रणको लागि आठबिसकोट नपा रुकुममा सबै सुबिधासहितको ८ कोठाको आइसोलेसन भवन निमार्ण १० दिनमा सक्ने लक्ष्यसहित श्रम सहकारीद्वारा काम गरिँदैछ। जनता नै शक्तिका श्रोत हुन्। सबैकुरा जनताबाट सिकौं।’


शर्माका अनुसार गत चैत २६ गतेदेखि निर्माण शुरु भएको आठबिसकोट नगरपालिकाको अस्पताल लगभग सम्पन्न हुने चरणमा पुगेको छ। उपचारका लागि सबै उपकरण र सुविधा उपलब्ध हुने गरी निर्माण भइरहेको ति अस्पताल श्रम सहकारीद्वारा निर्माण भइरहेका छन्।

६ वटा एटेच बाथरुम सहितका स्टान्डर्ड प्राइभेट रुमसहित १२ बेडको अस्पताल निर्माणा लागि स्वास्थ्य उपकरण बाहेक ६९ लाख ४५ हजार रुपैयाँ लागत अनुमान रहेको नगरपालिकाले जनाएको छ।

त्यस्तै चौरजहारी नगरपालिकामा पनि सबै सुबिधा सहितको आइसोलेसन निर्माण भइरहेको छ। १० दिनमा सक्ने लक्ष्यसहित काम सुरु भएको भवन पनि जनश्रमदानमा निर्माण भइरहेको छ।

यस्तै रुकुमको मुसिकोट नगरपालिकामा पनि प्रीफ्याब आइसोलेसन भवन निर्माण भइरेको छ। १० दिनमा सक्ने लक्ष्यसहित काम सुरु भएको भवन पनि सबै सुविधाहरुसहितको हुने जनाइएको छ।

पूर्वमन्त्री शर्माले सानीभेरी अस्पताललगायतका स्वास्थ्यसंस्थामा डाक्टर र स्वास्थ्यकर्मीसंग कोरोना महामारीको नियन्त्रणको विषयमा छलफल गरेका थिए। आवस्यक स्वास्थ सामग्री बोकेर रुकुम पुगेका उनले थप स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिबद्धता गर्दै उच्च मनोबलका साथ काम गन्र आग्रह गरेका थिए।