अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार



काठमाडौँ। अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ३० हजार आठ सय २६ पुगेको छ। अमेरिकामा अहिलेसम्म यो भाइरसको कारण संक्रमित हुनेको संख्या पनि ६ लाख ३७ हजार नाघेको छ। जसमा सबैभन्दा प्रभावित राज्य न्युयोर्कमा संक्रमित हुनेको संख्या दुई लाख १४ हजार नाघेको छ। यो राज्यमा अहिलेसम्म १४ हजार ६४ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै न्यु जर्सीमा अहिलेसम्म ७१ हजार मानिस यसबाट संक्रमित भइसकेका छन्। यो राज्यमा अहिलेसम्म तीन हजार एक सय ५६ जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म अमेरिकामा ५२ हजार संक्रमित निको भइसकेका छन्।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वभर २० लाख ६३ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन्। यो भाइरसको कारण अहिलेसम्म एक लाख ३६ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ।