इरानले भन्यो, ‘अमेरिकाले मान्छे मारिरहेको दुनियाँलाई थाहा छ’



काठमाडौँ। कोरोनाको महामारीको बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आर्थिक सहायता रोक्ने अमेरिकाको निर्णयको इरानले कडा शब्दमा विरोध गरेको छ।

कोरोनाबाट धेरै मानिसहरुको मृत्यु हुनुको दोष अमेरिकाले डब्लुएचओलाई लगाएको बेला इरानले भनेको छ, ‘अमेरिकाले मान्छे मार्छ भन्ने कुरा विश्वलाई थाहा छ।’

इरानका विदेशमन्त्री मोहम्मद जावेद जरीफले ट्वीटरमा लेखेका छन्, ‘महामारीको बीच डब्लुएचओको आर्थिक सहायता लज्जास्पद तरिकाले रोकियो । इरानले बुझिसकेको कुरा अब विश्वले बुझ्दैछ। इरानले प्रत्यक्ष भोगेको छ। तर्साउने, धम्काउने र अहंकारयुक्त कुरा गर्ने अमेरिकी शासनलाई केबल उसको बानी भन्न सकिँदैन बरु उसले मानिसहरुको हत्या गर्दै आएको विश्वलाई थाहा छ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोराना भाइरस संक्रमणको महामारी फैलिनुमा डब्लुएचओ दोषी रहेको भन्दै उसलाई दिँदै आएको आर्थिक सहायता रोक्न निर्णय गरेका थिए।

ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको र कोरोना भाइरसबारे गलत सूचना दिएको आरोप लगाएका छन्। डब्लुएचओको गल्तीकै कारण विश्वभर कोरोना भाइरसका कारण धेरैले ज्यान गुमाइरहेको ट्रम्पको ठहर छ।

उनले यसको जिम्मेवारी डब्लुएचओले लिनुपर्ने बताए। अमेरिका यसको एकमात्र ठूलो दाता राष्ट्र हो। गत वर्ष अमेरिकाले डब्लुएचओलाई ४ सय मिलियन डलर आर्थिक सहायता उपलब्ध गराएको थियो। एजेन्सी